बहुलवाद,नागरिकता, समानुपातिक तथा समावेशी प्रतिनिधित्व विषयमा विवाद

इनेप्लिज २०७२ असार १२ गते १०:५२ मा प्रकाशित

काठमाडौँ, १२ असार । संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदलले तयार पारेको एकीकृत मस्यौदाको विषयमा पूर्ण सहमति जुटाउनका लागि आज बसेको प्रमुख चार राजनीतिक दलको बैठक बिनानिष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न भएको छलफलमा कार्यदलले समितिमा शुक्रबार पेस गरेको मस्यौदाका विषयमा छलफल भए पनि विवादित केही विषयमा सहमति नभएपछि पुनः साँझ ५ बजे बैठक बस्ने सहमति भएको हो ।

बैठकपछि नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले मस्यौदा समितिले तयार पारेको मस्यौदामा देखिएका केही विवादित विषयमा सहमति खोज्नका लागि बैठक बसेको जानकारी दिनुभयो ।
उहाँले मस्यौदालाई थप परिष्कृत बनाउन र कम विवादित बनाउनका लागि बैठक केन्द्रित रहे पनि सबै विषयमा सहमति जुटाउन आन्तरिक छलफल गरी पुनः साँझ बैठक बस्ने बताउनुभयो ।

दलबीच बहुलवाद, नागरिकता, समानुपातिक तथा समावेशी प्रतिनिधित्वलगायतका विषयमा विवाद जारी रहेको छ ।

एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संवैधानिक समितिले तयार पारेको मस्यौदा एकलौटी र दलबीच भएको १६ बुँदे सहमतिको मूल मर्म विपरीत रहेको बताउनुभयो । उहाँले मजदुर, किसान, युवाको प्रतिनिधित्वलगायत विषयमा विगतमा भएको सहमति विपरीत समितिले मस्यौदा तयार पारेको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

उहाँले साँझ बस्ने चार दलको बैठकमा सो विषयमा छलफल हुनेसमेत जानकारी दिनुभयो । समितिअन्तर्गतको कार्यदलले तयार पारेको मस्यौदामाथि आजदेखि समितिको पूर्ण बैठकमा छलफल हुने कार्यक्रम छ ।

प्रतिक्रिया