शुक्रबार, माघ १४ २०७८
काठमाडौं २२:००
वासिङटन डिसी 11:15

संविधान बन्न नदिने खेलविरुद्व एक हुन आग्रह

इनेप्लिज २०७२ असार ११ गते १२:२२ मा प्रकाशित

ishwar-pokhrelबुटवल, ११ असार । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले अहिले संविधान बन्ने अवस्था आएपछि अनेक किसिमले व्यवधान थापेर संविधान बन्न नदिने खेल सुरु भएकाले त्यसविरुद्व देशपे्रमी एक हुनुपर्ने बताउनुभएको छ ।

यस वर्षको प्रवेशिका परीक्षामा उत्कृष्ट विद्यार्थीलाई अनेरास्ववियु रुपन्देहीले आज बुटवलमा आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले अहिले संविधान समयमा नै ल्याउने र संविधान नचाहनेबीच कित्ताबन्दी भएको र संविधान छिटो बनाउनुपर्छ भन्ने कित्ताको नेतृत्व एमालेले गरिरहेको जिकिर गर्नुभयो । अर्काे एक प्रसङ्गमा पूर्वउपप्रधानमन्त्री पोखरेलले भन्नुभयो–“देशलाई स्वाधीन र स्वतन्त्र बनाउन राजनीति बुझ्न जरुरी रहेकाले विद्यार्थीले पनि राजनीति गर्नुपर्छ ।”

कार्यक्रममा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले उच्च शिक्षाका लागि काठमाडाँै र विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गरी रुपन्देहीलाई शैक्षिक नमुना जिल्ला बनाउनका लागि जनप्रतिनिधिको हैसियतले आफूले सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष किशोरविक्रम मल्लले शैक्षिकक्षेत्रका विशेषज्ञको सहभागितामा परीक्षा प्रणाली सुधार गर्नाको विकल्प नभएको बताउनुभयो । प्रवेशिका परीक्षामा सामुदायिक विद्यालय तर्फबाट नेपाल प्रथम मानिनुभएका भावना अर्यालले आफ्नो सफलतामा आफ्ना अभिभावक, विद्यालय परिवार र साथीको मुख्य योगदान रहेको बताउनुभयो ।

सङ्गठनका जिल्ला अध्यक्ष सन्दीपकुमार विकको अध्यक्षतामा भएको सो कार्यक्रममा यस वर्षको प्रवेशिका परीक्षामा समुदायिक विद्यालयतर्फबाट नेपाल प्रथम अर्याल, सामुदायिक तर्फबाट जिल्ला प्रथम मनोज भण्डारी, संस्थागत तर्फबाट जिल्ला उत्कृष्ट निधि सिंह, प्रमोद पौडेल र अरुण अर्याललाई सम्मान गरिएको थियो । त्यस्तै जिल्लामा सामुदायिक तथा संस्थागत विद्यालयबाट विशिष्ट श्रेणी ल्याउने एक हजार १८८ विद्यार्थी र शतप्रतिशत उत्तीर्ण गराउन सफल विद्यालयलाई समेत सम्मान गरिएको थियो । सो सङ्गठनले प्रत्येक वर्ष यसरी विद्यार्थी सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया