अपाङ्गता भएकाका लागि सहायक सामग्री प्रदान गर्न शिविर

इनेप्लिज २०७२ असार ११ गते ३:३९ मा प्रकाशित

apangaइलाम, ११ असार । अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरूलाई सहायक सामग्री प्रदान गर्न इलाममा बृहत् शिविर सुरू भएको छ ।

जिल्लामा रहेको अपाङ्गता भएका व्यक्तिहरुको खोजी गरी उनीहरूलाई सहायक सामग्री प्रदान गरी अरु समान बनाउन राष्ट्रिय अपाङ्ग महासङ्घ जिल्ला शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

शारीरिक अपाङ्गता भएकाहरुको लेखाजोखा गरेर फिजियोथेरापी सेवा, सहायक सामग्री, कृत्रिम अङ्ग नापजाँच तथा वितरण, विकृत अङ्गहरुको शल्यक्रिया र परामर्श सेवा प्रदान गर्न सिविआर विराटनगरले प्राविधिक सहयोग गरेको छ ।

शिविरमा पहिचान भएका करिब ८० जनालाई साउन ७ गते पुनः शिविर आयोजना गरी सहायक सामग्री वितरण गरिने तथा उनीहरूलाई सहायक सामग्रीको उपयोगिता र प्रयोगबारे तालिम समेत दिइने सिविआर विराटनगरका प्रबन्धक राजेन्द्रकुमार यादवले बताउनुभयो ।

अपाङ्ग महासङ्घ इलामले यसअघि सञ्चालन गरेको शिविरमा दुई सय जनालाई सहायक सामग्री प्रदान गरिसकिएको जानकारी जिल्ला अध्यक्ष प्रकाश थापाले दिनुभयो ।

प्रतिक्रिया