भीमदत्तनगर, ११ असार । बैतडी जिल्लाका ५५७ विद्यालयमध्ये अझै २११ विद्यालयमा खानेपानी र शौचालयको समस्या रहेको एक तथ्याङ्कले देखाएको छ ।
जिल्ला विकास समिति बैतडीको आव २०७२÷७३ को जिल्ला विकास योजना पुस्तकमा जिल्लाका दुईसयभन्दा बढी विद्यालयमा खानेपानी र शौचालयको समस्या रहेको उल्लेख गरिएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले निकालेको उक्त तथ्याङ्कअनुसार जिल्लाभरका १६१ प्रावि, ३२ निमावि, १० मावि र आठ उच्चमावि गरी २११ विद्यालयमा अझै पनि खानेपानी उपलब्ध हुन नसक्दा विद्यालयको पढाइ समेत प्रभावित बन्दै जान थालेको छ ।
यस्तै पानीसँगै जिल्लाका अधिकांश विद्यालयमा शौचालयको समस्या समेत कायमै रहेको छ । पानी नहुँदा शौचालय भएपनि प्रयोगमा आउन सकेका छैनन् भने पानी भएका केही विद्यालयमा शौचालय प्रयोगकै अवस्था नाजुक रहेको छ ।
विद्यालयमा पानी र शौचालय अभावमा विद्यार्थीले टाढा जानुपर्ने बाध्यताका कारण विद्यालयको पठनपाठन समेत प्रभावित बन्दै जान थालेको हो ।
प्रतिक्रिया