केशव विष्ट राखेप सदस्य–सचिव नियुक्त

इनेप्लिज २०७२ असार १० गते १२:४५ मा प्रकाशित

काठमाडौ, १० असार । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य–सचिवमा केशव विष्ट बिहीबार नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष पुरुषोत्तम पौडेलले विष्टलाई राष्ट्रिय खेलकुद विकास ऐन २०४८ अनुसार नयाँ सदस्य–सचिवमा नियुक्त गरेका हुन् ।

एमालेको तर्फबाट मन्त्री बनेका पौडेलले आफ्नै पार्टीका विष्टलाई बिहीबार खेलकुद विकास ऐनको दफा ३ को उपदफा २ अनुसार संघहरुका तर्फबाट परिषद् अध्यक्षले तीन सदस्य नियुक्त गर्न पाउने अधिकार प्रयोग गर्दै विष्टलाई राखेपको सदस्यमा बिहीबारै नियुक्त गरेका हुन् । सदस्य नियुक्त गरेपछि उनलाई सदस्य–सचिव बनाइएको हो ।

विष्ट नेपाल सेपाकटात्रो संघबाट सिफारिस भएका हुन् । विष्टसँगै मन्त्री पौडेलले नेपाल पौडी संघको सिफारिसमा राजेन्द्र श्रेष्ठ र अखिल नेपाल फुटबल संघको सिफारिसमा समिउल्लाहलाई राखेपको सदस्यमा नियुक्त गरेको मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले जानकारी दिए ।

सदस्य बनाए लगतै मन्त्री पौडेलले विष्टलाई ऐनको दफा ३ को उपदफा ३ अनुसार सदस्यसचिवमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया