एक खर्ब रुपैयाँ अतिरिक्त सहयोग हो: भारतीय विदेशमन्त्री

इनेप्लिज २०७२ असार १० गते ११:१९ मा प्रकाशित

Rss_Images_1435217642835_Pro_Ktm_ICNR Conference (7)काठमाडौँ, १० असार । भारतका विदेशमन्त्री सुष्मा स्वराजले नेपालको पुनःनिर्माणका लागि भारत सरकारले उपलब्ध गराउने रु एक खर्ब नियमित सहयोगभन्दा पृथक् भएको स्पष्ट गर्नुभएको छ ।

नेपालको पुनःनिर्माणका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई स्वदेश फर्कनुअघि एक वक्तव्य जारी गर्दै उहाँले आगामी पाँच वर्षभित्र नेपाललाई रु एक खर्ब प्रदान गर्ने प्रतिबद्धता जारी अनुदान तथा ऋण सहयोगबाहेकको अतिरिक्त रकम भएको बताउनुभएको छ ।

भारत सबैभन्दा निकट र प्राचीन सम्बन्ध रहेको छिमेकी मित्र नेपालसँग काँधमा काँध मिलाएर अघि बढ्न चाहन्छ भन्दै उहाँले भारतीय सहयोगबाट नेपाल सरकार र नेपालीको यथाशीघ्र पुनरुत्थान र पुनःनिर्माणको प्रयासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“हामीले पञ्चेश्वर, अरुण–३ तथा माथिल्लो कर्णाली जलविद्युत् आयोजना, निजगढ विमानस्थल र काठमाडाँै–निजगढ द्रुतमार्गजस्ता महत्वपूर्ण परियोजनाको यथाशीघ्र कार्यान्वयनबाट नेपाली जनताको जीवनस्तर र नेपाल सरकारको राजस्व वृद्धिका साथै भूकम्पपछिको शीघ्र पुनःनिर्माण र पुनर्वासमा योगदान पुग्ने आशा गरेका छौँ” – वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया