म्याग्दीका उपभोक्ता विद्युत् भार कटौती र अनियमितताका मारमा

इनेप्लिज २०७२ असार १० गते १:३० मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), १० असार । म्याग्दीका सर्वसाधारण आन्तरिक विद्युत् भार कटौती र अनियमितता विद्युत् आपूर्तिको मारमा परेका छन् ।

ट्रान्सफर्मरको क्षमताले विद्युत्को माग धान्न नसक्ने र जिल्ला बाहिरको प्रसारण लाइनमा देखिएको समस्याका कारण म्याग्दीका उपभोक्ता छिनछिनमा बिजुली आउनेजाने गरिरहने तथा आन्तरिक विद्युत् भार कटौतीको मारमा परेका हुन् ।

विद्युत् आपूर्र्ति अनियमितता हुँदा कलकारखाना, उद्योग व्यवसाय, सर्वसाधारणको दैनिकी बैंक वित्तीय संस्था र सरकारी कामकाजसमेत प्रभावित बनेको म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

म्याग्दीको विभिन्न ठाउँमा विद्युत् वितरण गर्ने फिडर लाइनको तीन एमभिए क्षमताको ट्रान्सफर्मरले सोभन्दा धेरै विद्युत् खपत हुन थालेपछि माग धान्न नसकेर विद्युत् भोल्टेज अप डाउन हुने समस्या देखिएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले जनाएको छ ।

तेह्र हजार घरधुरीभन्दा बढी विद्युत् उपभोक्ता रहेको म्याग्दीमा जेठ महिनामा बेनी फिडरमार्फत चार लाख ७२ हजार ८६३ युनिट, भुरुङ तातोपानी फिडरमार्फत एक लाख ४२ हजार २४८ युनिट र रत्नेचौर फिडरमार्फत ९१ हजार ६२५ युनिट विद्युत् खपत भएको थियो । माग धान्न नसकेपछि तीन वटा फिडरमा तीन दिनको एक पटक थप डेढ घन्टाका दरले आन्तरिक विद्युत् भार कटौती गरिएको छ ।

विद्युतीकरण विस्तार हुने क्रम बढे पनि ट्रान्सफर्मरको क्षमता बढाउन नसकिँदा माग धान्न नसकेर विद्युत् आपूर्र्तिमा समस्या देखिन थालेको केन्द्रका प्रमुख सीताराम शाहले बताउनुभयो । उहाँका अनुसार तीन एमभिए क्षमताको ट्रान्सफर्मरको क्षमता बढाएर ६ एमभिए बनाउन सकेमा विद्युत् आपूर्र्ति अनियमित हुने समस्याको दिगो समाधान हुन सक्छ ।

यसैगरी पर्वत, बागलुङ र म्याग्दीमा एउटै ३३ केभी प्रसारण लाइनमार्फत विद्युत् आपूर्र्ति हुने गरेकाले पर्वत र बागलुङको लाइनमा समस्या देखिए त्यसको असर म्याग्दीको विद्युत् आपूर्र्तिमा पर्ने गरेको शाहले बताउनुभयो ।

जेठ महिनामा बागलुङ र पर्वतमा खराबी आउँदा म्याग्दीमा ११५ पटक ६४ घन्टा २५ मिनेट विद्युत् आपूर्र्ति बन्द भएको थियो ।

गत महिनामा म्याग्दीको लाइनमा ६३ पटक समस्या देखिँदा सात घन्टा ५५ मिनेट विद्युत् आपूर्र्ति बन्द भएको थियो । भौगोलिक विकटता र दुर्गम क्षेत्र भए पनि ५३ जना कर्मचारीको दरबन्दी रहेको विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रमा १५ जना मात्र कर्मचारी कार्यरत छन् ।

न्यून जनशक्तिका कारण कार्यालय सञ्चालन, विद्युत् लाइन मर्मत, नयाँ लाइन विस्तारलगायतका काम गर्न समस्या भएको प्रमुख शाहले बताउनुभयो ।

शाहका अनुसार म्याग्दीमा देखिएको अनियमितता विद्युत् आपूर्र्तिको समस्याको दीर्घकालीन समाधानका लागि पर्वतको कुश्मा र म्याग्दीको रातोढुङ्गामा सवस्टेसन निर्माण, ट्रान्सफर्मरको क्षमता विस्तार तथा दरबन्दीअनुसारका जनशक्तिको व्यवस्था गर्नुपर्ने आवश्यक छ ।

प्रतिक्रिया