सोमबार, माघ ३ २०७८
काठमाडौं ०३:४३
वासिङटन डिसी 16:58

प्रधानमन्त्री कोइरालासँग राष्ट्रसङ्घका उपमहासचिव आचार्यको भेट

इनेप्लिज २०७२ असार ९ गते १२:५८ मा प्रकाशित

Acharya Call on PMकाठमाडौँ, ९ असार । प्रधानमन्त्री सुशील कोइरालासँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव ज्ञानचन्द्र आचार्यले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको छ ।

आचार्य भोलि हुने नेपालको पुनःनिर्माण अन्तर्राष्ट्रिय सम्मेलन २०७२ मा सहभागिताका लागि नेपाल आउनुभएको हो ।

भेटमा गत वैशाख महिनामा गएको भूकम्प, भूकम्पपछिको खोजी, उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका विषयमा कुराकानी भएको थियो ।

प्रधानमन्त्री कोइरालाले भूकम्पपछि खोजी, उद्धार, राहत र पुनःस्थापना कार्यमा संयुक्त राष्ट्रसङ्घले गरेको सहयोगको लागि धन्यवाद दिनुभएको थियो ।

उहाँले स्थायी रुपमा पुनःस्थापनाको काम आरम्भ गर्न र पुनःनिर्माणको चरणमा प्रवेश गर्न आवश्यक स्रोत साधनको व्यवस्थापन र तिनको समूचित उपयोगलाई ध्यानमा राखेर नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको बताउनुभयो ।

सो अवसरमा राष्ट्रसङ्घका उपमहासचिव आचार्यले भूकम्पपछि नेपालमा भएको खोजी, उद्धार, राहत र पुनःस्थापना कार्यको सराह्रना गर्नुभयो । उहाँले देशभित्र र बाहिर रहेका नेपालीमा आएको स्वःस्फूर्त सहयोग र स्वयंसेवी भावनाको पनि प्रशंशा गर्नुभयो ।

उहाँले भूकम्पपछिको नेपाललाई राहत, पुनःस्थापना र पुनःनिर्माण कार्यमा आवश्यक स्रोत साधन जुटाउन संयुक्त राष्ट्रसङ्घले पनि गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभयो ।

भेटका अवसरमा नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक जेमी म्याकगोल्डरिक पनि उपस्थित हुनुहुन्थ्यो । आवासीय संयोजक म्याक गोल्डरिकले सोह्रबुँदे सहमतिपछि संविधान निर्माणमा उल्लेख्य प्रगति भएको बताउँदै नेपालको सङ्क्रमण छिट्टै टुङ्गिने विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा लोकतान्त्रिक संविधान आएपछि शान्ति र स्थायित्व कायम हुने उल्लेख गर्दै त्यसपछि विकासले गति लिने विश्वास व्यक्त गर्नु भएको थियो ।

भेटमा प्रधानमन्त्री कोइरालाले संयुक्त राष्ट्रसङ्घलाई यस्तो विपत्को समयमा हर क्षेत्रमा गरेको सहयोगको लागि कृतज्ञता प्रकट गर्दै वितरित राहत सामग्री खास गरी खाद्यान्न र औषधिको गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया