लमजुङका २० विद्यालय ‘मर्ज’ हुँदै

इनेप्लिज २०७२ असार ९ गते ५:४० मा प्रकाशित

lamjung_map_nepalलमजुङ, ९ असार । लमजुङका २० वटा सामुदायिक विद्यालय मर्ज गरिने (गाभ्ने) भएको छ । जिल्ला शिक्षा समिति लमजुङको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

शिक्षा समितिले प्राथमिक तहको १ देखि ३ कक्षासम्म सञ्चालन भएका विद्यालयमा १० विद्यार्थी हुनुपर्ने र १ देखि ५ सम्म सञ्चालन भएका विद्यालयमा २० विद्यार्थी हुनुपर्ने प्रावधान राखेकामा यसभित्र परेका ३७२ सामुदायिक विद्यालयमध्ये हाललाई २० वटालाई नजिकैको अर्को विद्यालयमा गाभ्न लागिएको हो ।

विद्यालय गाभ्दा दुई विद्यालयको दूरी आधा घन्टासम्मको समयलाई आधार बनाइएकोे जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

यस्तै शिक्षा समितिले विद्यार्थी सङ्ख्याको आधारमा बनाएको यो मापदण्डलाई भौगोलिक दूरीका आधारमा टाढा रहेका विद्यालयमा भने यो प्रक्रिया सुरु गरेको छैन । लमजुङको उत्तरी भेगको बाहुनडाँडाको दुर्गम डहरे गाउँमा रहेको केही विद्यालयमा भने सो प्रक्रिया लागू नगरिने जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले बताउनुभयो ।

छ महिनाअगावै विद्यालय गाभ्ने प्रक्रिया थालिए पनि जिल्लाका सभासद्सहित मङ्गलबार बसेको शिक्षा समितिको बैठकले प्रक्रियालाई अन्तिम रुप दिएको हो ।

यस्तै समितिको बैठकले भूकम्पले पूर्ण क्षति पुर्‍याउनुका साथै बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्थाका बिचौर गाविसको सूर्यज्योति प्रावि र विद्याज्योति प्रावि, इलमपोखरीको जयवालदेवी प्रावि र चम्पादेवी प्राविलाई मर्ज गरी नयाँ भवन बनाउने निर्णय गरेको शिक्षा अधिकारी पराजुलीले बताउनुभयो ।

यसैबीच लमजुङ जिल्लाका दश वटा सामुदायिक विद्यालयको तह घटाइएको छ । शिक्षा समितिको बैठकले केही कक्षामा विद्यार्थी सङ्ख्या न्यून भएको र केहीमा विद्यार्थी नै नभएका कारण तह घटाउने निर्णय गरेको जानकारी शिक्षा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले दिनुभयो ।

प्रतिक्रिया