शुक्रबार, माघ १४ २०७८
काठमाडौं २१:३८
वासिङटन डिसी 10:53

यसकारण निष्कर्ष विहीन बन्यो चार दलको बैठक

इनेप्लिज २०७२ असार ८ गते २१:४५ मा प्रकाशित

Four Parties Meeting

काठमाडौँ, ८ असार । संविधानको एकीकृत मस्यौदा बनाउने क्रममा देखिएको विवाद समाधान गर्न बसेको प्रमुख चार दलको बैठक बिनानिश्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुबाटारमा साँझ बसेको बैठकमा विवादित विषयमाथि छलफल भए पनि अन्तिम रुप दिन समय लाग्ने भएकाले बुधबार बिहान पुनः बैठक बसेर टुङ्ग्याउने नेताहरुले बताएका छन् । बैठकपछि गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतमले विस्तृत रुपमा छलफल गर्नुपर्ने भएकाले बुधबार बैठक बसेर टुङ्गो लगाउने विषयमा छलफल भएको बताउनुभयो ।

त्यस्तै, एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा मस्यौदा समितिमा भएको कामका बारेमा समितिको कार्यदलका तर्फबाट प्रमुख पार्टीका शीर्ष नेतालाई ‘ब्रिफिङ’ गर्दै १५ दिनभित्र नै मस्यौदालाई अन्तिम रुप दिने तयारी भइरहेको र त्यो काम पूरा गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गरेको जानकारी दिनुभयो । उहाँका अनुसार मस्यौदा समितिको टोलीले केही विषयमा नेतृत्व तहमा छलफल गरेर निचोड निकाल्ने काम गर्न सकिए तीव्र रुपमा अघि बढाउन सकिन्छ भन्ने अनुरोध गरेकाले बुधबार चार दलका एक/एक शीर्ष नेता र मस्यौदा समितिका कार्यदलमा कार्यरत एक/एक जना सदस्य बसेर छलफल गर्ने समझदारी भएको छ ।

बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारसहित मस्यौदा समिति कार्यदलका सदस्यहरु सहभागी हुनुहुन्थ्यो । बुधबार बिहान ११ बजे बैठक बसेर संविधानको एकीकृत मस्यौदा बनाउने क्रममा देखिएको विवादबाट निश्कर्ष निकाल्ने चारदलबीच समझदारी भएको छ । रासस

प्रतिक्रिया