आइतबार, माघ ९ २०७८
काठमाडौं ०९:०५
वासिङटन डिसी 22:20

सर्वाेच्च अदालतको आदेश ‘अनौठो र राजनीतिक’: ओली

इनेप्लिज २०७२ असार ८ गते १२:२० मा प्रकाशित

KP-Oliकाठमाडौँ, ८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणका सन्दर्भमा प्रमुख दलहरुबीचको सहमतिबारे सर्वाेच्च अदालतले हालै गरेको अन्तरिम आदेश ‘अनौठो र राजनीतिक’ भएको बताउनुभएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैंककबाट आज स्वेदश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले अदालतले न्यायिक र संवैधानिक फैसला मात्र गर्नुपर्ने भन्दै आदेशबाट आफू आश्चर्यचकित भएको जनाउनुभयो । उहाँले भन्नुभयो, “जनताले आफ्ना सार्वभौम जनप्रतिनिधिलाई संविधान बनाउने अधिकार दिएर पठाएका छन्, उनीहरु संविधान बनाउन स्वतन्त्र छन्, यसमा कसैको बाधाव्यवधान र आदेशले असर गर्दैन ।”

उहाँले संविधान निर्माणको प्रक्रिया स्वतन्त्रतापूर्वक र बिना बाधा अवरोध अघि बढ्ने बताउँदै कुनै द्विविधा तथा त्रासमा नरहन जनतलाई आग्रह गर्नुभयो ।

प्रमुख दलबीच गत जेठ २५ मा भएको १६ बुँदे सहमतिमा सङ्घीयताको नामाङ्कन र सीमाङ्कन नगरी संविधान जारी गर्ने उल्लेख हुनु संविधानविपरीत भनी सर्वाेच्च अदालतको एकल इजलासले केही दिन अघि अन्तरिम आदेश दिएको थियो ।

अध्यक्ष ओलीले जनताको आवश्यकताअनुसार नयाँ संविधान बनाउन लागिएकाले त्यसका लागि अन्तरिम संविधानको कुनै धारा असंशोधनीय छ भन्नेरुपमा व्याख्या गर्र्नुले देशलाई एकताबद्ध, समृद्ध, स्थिर र समुन्नत बनाउने दलहरुको प्रयासमा अन्य उद्देश्य मिसाएर त्यस्तो आदेश आएको त होइन भन्ने प्रश्न उब्जिएको टिप्पणी गर्नुभयो । कस्तो अन्य उद्देश्य भन्ने जिज्ञासामा ओलीको जवाफ थियो, “त्यो त नाङ्लो लगाएर केलाउनुपर्छ ।”

उहाँले अन्तरिम संविधानलाई अहिलेको व्यवस्थापिका–संसद्ले संशोधन पनि गर्न सक्ने र अन्तरिम संविधानको सीमामा रहेर नयाँ संविधान ल्याउनुपर्छ भन्ने बाध्यता पनि नरहेको जनाउनुभयो ।

विसं २०५२ भदौ १२ मा मध्यावधि निर्वाचनसम्बन्धी सर्वाेच्चबाट भएको फैसलाले मुलुकमा राजनीतिक हिंसा निम्त्याएको उल्लेख गर्दै उहाँले संविधानका हवाला दिँदै गरिने यस्ता फैसला राजनीतिक हुने बताउनुभयो ।

राजनीतिक विषयमा निर्णय गर्न पार्टी स्वतन्त्र रहने र त्यसमा मूल्याङ्कन गर्ने काम जनताको भएको दावी गर्दै अध्यक्ष ओलीले संविधान चाँडै बन्ने भएपछि संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त स्वागतलाई निराशामा परिणत हुन नदिने दृढता प्रकट गर्नुभयो ।

राष्ट्रपति डा रामवरण यादवले पनि १६ बुँदे सहमतिमा आफूसँग परामर्श नभएको भन्ने आशय बाहिर आएको छ नि ? भन्ने पत्रकारको एक प्रश्नमा अध्यक्ष ओलीले भन्नुभयो, “संवैधानिक राष्ट्रपतिले राजनीति गर्ने होइन भन्ने उहाँलाई थाहा छ ।”

अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि यही असार २ गते त्यसतर्फ जानुभएको थियो । उहाँले परीक्षणबाट आफ्नो स्वास्थ्य अत्यन्त राम्रो भएको जनाउनुभयो ।

उहाँको स्वागतका लागि उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीपकुमार ज्ञवालीलगायत नेता विमानस्थल पुग्नुभएको थियो ।

प्रतिक्रिया