‘हिरो बन्न सकिनँ’

इनेप्लिज २०७२ असार ७ गते १२:०६ मा प्रकाशित

parashखासमा हिरो बन्ने सपना थियो उहाँको । कहिलेकाहीँ त लाग्थ्यो, जन्मेकै अभिनय गर्न हो । परिवारले नरुचाउँदा नरुचाउँदै आफ्नै मर्जीमा लामो समय अभिनयमा तल्लीन हुनुभयो । केही म्युजिक भिडियो र विज्ञापन खेल्नुभयो । त्यही शोखले आफूलाई क्रियटिभ राख्ने, नयाँ नयाँ काम गर्ने बानी बस्यो ।

यो प्रसंग हो, एनआरएन जापानका अध्यक्ष एवं युवा व्यवसायी पारसमणि पोखरेलको । उहाँ सुनसरीको सदरमुकाम इनरुवामा २०३० सालमा जन्मिनुभएको हो, खेमराज पोखरेल र वेदमाया पोखरेलका कान्छा सुपुत्रका रुपमा । उहाँका ती दाजु र दुई दिदीबहिनी छन् । उहाँको परिवारको पेशा खेतीपाती नै थियो । इनरुवाकै सरकारी स्कुल भगवती माविबाट एसएलसी गरेपछि उहाँ बिभिन्न सपना बोकेर राजधानी आउनुभयो र शंकरदेव क्याम्पसबाट एमबीएसम्म उच्च शिक्षा लिनुभयो ।
तीन दाजुसँग राजधानीमा संघर्षशील जीवन र समय बिताउनुभयो उहाँले । तत्कालीन समयमा शैक्षिक अवस्था राम्रो भए सजिलै सरकारी जागीर पाइन सक्थ्यो । तर, उहाँले बाबुआमा र परिवारको दबाबका बाबजुत सरकारी सेवामा प्रवेश गर्न चाहनुभएन । बरु कलाकारितामा जम्ने प्रयास गरिहनुभयो ।
विद्यार्थी जीवनमै अर्थात् सन् २००१ मा उहाँलाई रोटरी एक्सचेन्ज प्रोग्राममा जापान जाने मौका मिल्यो । त्यतिबेला भारतका चारसहित उहाँ छ हप्तासम्म सो कार्यक्रममा सहभागी भएर स्वदेश फर्कनुभयो । शंकरदेव क्याम्पसमा स्नातकोत्तर दोस्रो वर्षमा पढ्दा अर्थात् सन् २००३ मा रोटरी फाउन्डेसनबाट एम्बासोडोरियल छात्रवृत्ति प्राप्त गरेपश्चात उहाँले जापानमा उच्च शिक्षा अध्ययनको मौका पाउनुभयो र १२ वर्षयता जापानलाई नै कर्मभूमि बनाउँदै आउनुभएको छ ।
जापानमा उहाँलाई कसैले रातो कार्पेट बिच्छाएको थिएन । त्यसैले उहाँले इन्टरनेसनल क्रिस्टियन युनिभर्सिटीमा पढ्दै नोगाया सी सहरको एक रेस्टुरेन्टमा एक वर्षजति पार्टटाइम काम गर्नुभयो । त्यहाँ केही सीप र ज्ञान प्राप्त गरेपछि आफ्नै व्यवसाय सुरु गर्नुभयो । सन् २००७ देखिको त्यो यात्रा निरन्तर छ । उहाँको नान मास्टर रेस्टुरेन्टको चारवटा शाखा छन् । त्यहाँ नेपाली, इन्डियन, इन्डोनेसियनजस्ता एसियन परिकार पाइन्छन् । नेपाली, जापानी, चाइनिज, ब्राजिली गरी ४६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यसमा नेपालीको संख्या २५ जनाभन्दा बढी छ ।
यसका साथै त्यहाँका १६ सय रेस्टुरेन्टलाई सामान आपूर्ति गर्ने सामिका ट्रेडिङ कम्पनी पनि छ उहाँको । त्यसले उहाँलाई जापानमै प्रतिष्ठित युवा व्यवसायीको परिचय दिएको छ । जापानमा व्यवसायका लागि सजिलो भएको उहाँको अनुभव छ । बैंकले विश्वास गर्छन् । राजनीतिक स्थिरता छ र लगानी डुब्दैन ।
जापानमा उहाँजस्ता ४० हजार नेपाली छन् । तिनीहरुमध्ये १२ सय वटा कम्पनी नेपालीले चलाएका छन् । तिनमा झन्डै पाँच हजार जना नेपाली कार्यरत छन् । जापानमा नेपालीका तीन हजार रेस्टुरेन्ट छन् । त्यहाँ भाषिक कमजोरी, कानुनी अड्चन आदि केही समस्या नभएका होइनन् तर ती समाधान हुने खालका छन् ।
पोखरेल सन् २००४ देखि एनआरएन अभियानमा हुनुहुन्छ । एनआरएन जापानको केन्द्रीय सदस्य, सल्लाहकार हुँदै सन् २०१३ मा उहाँ निर्वाचित अध्यक्ष हुनुभएको हो । यसबाहेक
रोटरी क्लबको चुबु नोगाया मिराईको फेलोसिप कमिटीको अध्यक्षका साथै एक्जुकेसिटभ मेम्बर हुनुहुन्छ । रोटरीमा उहाँको संलग्नता सन् १९९४ देखि हो । रोटरी क्लब अफ काठमाडौंको संस्थापक उपाध्यक्ष हुँदै सन् १९९८ मा अध्यक्ष नै हुनुभयो ।
एनआरएनको दुईवर्षे कार्यकालमा ड्रिम नेपाल, एनआरएन हेल्पलाइन, नेपालीको बिमा र डेटाबेस उहाँको प्रमुख योजना हो र यसलाई कुनै पनि हालतमा सफल पार्न सक्छु भन्ने आत्मविश्वास छ उहाँमा ।
‘विदेश आएका हामी सबै एनआरएन हौँ, कुनै नेपालीलाई केही परेमा हामी एकजुट हुने गर्दछौं । त्यो नै हाम्रो एकता भएजस्तो लाग्छ,’ उहाँ भन्नुहुन्छ, ‘एनआरएनकै कारण छोटो समयमै नेटवर्कको विस्तार भएको छ । पैसामात्र सबथोक होइन । तैपनि यसले संयुक्त लगानीको अभ्यास सुरु गरेको छ ।’
जापानमै प्रेम विवाह भएको हो उहाँको । पत्नी समिता पोखरेलले रेस्टुरेन्ट डिपार्टमेन्ट हेर्नुहुन्छ । एक मात्र छोरा छन् समिक पोखरेल पाँच वर्षका । उहाँको शोख छ, नयाँ मान्छे भेट्ने, नयाँ विचार बुझ्ने, नयाँ ठाृउँ घुम्ने । काठमाडौं, पोखरा, धरान उहाँका प्रिय गन्तव्य हुन् ।
विदेशमा सिकेको सीप र प्रविधिलाई स्वदेशमा ल्याउनुलाई उहाँ ठूलो कुरा ठान्नुहुन्छ । अब उहाँ जापानमा रहेका कम्पनीलाई नेपालमा विस्तार गर्ने सोचाइमा हुनुुहुन्छ । एउटा होटल खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ । जलस्रोत, कृषि, पर्यटन र शिक्षा क्षेत्रमा थप काम गर्ने योजना छ ।
समाजसेवामा उहाँले उपेन्द्र महतो, शेष घले आदि एनआरएन अभियन्तालाई रोल मोडल मान्नुभएको छ । विदेशमा सामान्य कामबाट सुरु गरेर उनीहरुले एउटा उदाहरण प्रस्तुत गरेजस्तो उहाँलाई लाग्छ । त्यसले सबै एनआरएनलाई ऊर्जा पनि दिएको छ ।
‘संसार सानो छ । जहाँ गए पनि काम गर्नैपर्छ । विदेश जानु भनेको आर्थिक हिसाबका लागी मात्र हो भन्नु सरासर गलत हो,’ उहाँ भन्नुहुन्छ– जिन्दगी एक पटकका लागि मात्र हो । यस बीचमा हामीले धेरै गर्नु छ । धेरै देख्नु पनि छ । पहिलो पुस्ताले यति गर्नु ठूलो कुरा हो ।

प्रतिक्रिया