उद्धार कोषको रकम दुरुपयोग हुने छैन: प्रम कोइराला

इनेप्लिज २०७२ असार ६ गते १०:४४ मा प्रकाशित

Avichinna Saving and Credit Cooperative Submits Relief Fund to tकाठमाडौँ, ६ असार । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको रकम दुरुपयोग हुन नदिने बताउनुभएको छ ।

उहाँले कोषका तर्फबाट भूकम्पपीडितलाई राहत र सहयोगका लागि गएको रकम र सामग्री वितरण न्यायोचित हुनुका साथै त्यस्तो सहयोगको सदुपयोगमा सरकार सजग रहेको उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, “अनियमितता र दुरुपयोग गर्नेलाई दण्डित नै गर्छु, चाहे मन्त्री होस् वा सचिव ।”

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री कोइरालाले भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न चाहनेलाई जिल्लामा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी काम गर्न पनि आग्रह गर्नुभयो । “जिल्लामा कहाँ राहत सामग्री पुगेको छ र कहाँ पुगेको छैन भन्ने रेकर्ड प्रमुख जिल्ला अधिकारीसँग हुन्छ”, प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “उहाँसँगको समन्वयमा काम गर्दा कतै राहत थुप्रिने र कहीँ नपुग्ने हुँदैन ।”

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज विभिन्न सङघसंस्थाले सहयोग गरेका छन् ।

नेपाल वित्तीय संस्था सङ्घको १५ लाख

भूकम्पपीडित नेपालीको सहयोगार्थ नेपाल वित्तीय संस्था सङ्घले रु १५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ ।

सङ्घका अध्यक्ष राजेन्द्र शाक्यले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा सङ्घका पदाधिकारी अनिल श्रेष्ठ, मनबाहिङ राई, दिनेशलाल श्रेष्ठ र सन्तोषकुमार श्रेष्ठको पनि उपस्थिति थियो ।

महर्षि विश्वविद्यालयको ११ लाख

संयुक्त राज्य अमेरिकाको आयोवा अवस्थित महर्षि युनिभर्सिटी अफ मेनेजमेन्टले नेपालका भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरेको छ ।

विश्वविद्यालयको अन्तर्राष्ट्रिय विकासका निर्देशक डा किङ्गस्ले ब्रुकले बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालालाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा नेपाल वैदिक फाउन्डेसनका कर्मचारी तथा ध्यानाशिक्षकका तर्फबाट भूकम्पपीडित नेपालीको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ५३ हजार २२ रुपैयाँ प्रदान गरिएको थियो । फाउन्डेसनका तर्फबाट अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा निर्देशक डा ब्रुकले विश्वविद्यालयले वास्तुसमेतलाई ध्यानमा राखेर भूकम्प प्रभावित क्षेत्रमा १०० घरको वैदिक भिलेज बनाउन आफूहरु तयार रहेको बताउनुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा डिल्लीराम अधिकारी, समीक्षा बाँस्कोटा, शान्ता बाँस्कोटाको पनि उपस्थिति रहेको थियो ।

नम्रता र नवीनले दिए छ लाख

न्यूयोर्क अमेरिकामा रहेका नम्रता बराल र नवीन बाँस्कोटाले नेपालका भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख सहयोग गरेका छन् ।

नम्रता बरालले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्र्नुभएको थियो । उहाँहरुले सो रकम गो फण्ड मि डोनेसन पोर्टलमार्फत सङ्कलन भएको जानकारी गराउनुभएको थियो ।

नाट्टाबाट पाँच लाख

नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स(नाट्टा) ले आज भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख प्रदान गरेको छ ।

नाट्टाका अध्यक्ष डिबी लिम्बूले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा अध्यक्ष लिम्बूले भूकम्प पछिको अवस्थामा नेपालमा पर्यटक आकर्षण गर्न विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा काठमाडौँ उपत्यकालाई पनि सङ्कटग्रस्त क्षेत्र बनाइएकाले पर्यटकले असुरक्षित महसुस गर्ने अवस्था उत्पन्न भएको बताउनुभयो ।

उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकमात्र रनवे भएकाले सङ्कटका समयमा हवाइजहाज सञ्चालनमा समस्या आएकाले यसलाई दुई रनवेको बनाउन माग गर्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएकाले पोखरा र बाराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो ।

संस्थाले भूकम्प प्रभावित काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, ओखलढुङ्गा, पर्वत र ललितपुरमा राहत पु¥याएको जनाएको छ ।

टेवा र नागरिक आवाजबाट  पाँच लाख

नारी सशक्तीकरणका लागि नारीबाटै स्थापित र सञ्चालित टेवा र नागरिक आवाजनामक संस्थाले पनि भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख प्रदान गरेका छन् ।

टेवाका अध्यक्ष डा निर्मला केसीले रु दुई लाख ५० हजार र नागरिक आवाजकी अध्यक्ष शोभा बस्नेतले रु दुई लाख ५० हजारको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा टेवाकी कोषाध्यक्ष रमा श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो ।

दुवै संस्थाले भूकम्प प्रभावित सबै जिल्लामा नगद, खाद्यान्न, जस्तापाता, सेनेटरी प्याड, सुत्केरी प्याकेज, अनाथलाई आश्रयको व्यवस्था, औषधि, आँखा र स्वास्थ्य शिविरका साथै भूकम्पको भय हटाउन परामर्श सेवा उपलब्ध गराएको जनाएका छन् ।

ओशोधारा सङ्घको पाँच लाख

भूकम्पपीडितको सहयोगार्थ ओशोधारा सङ्घ नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख प्रदान गरेको छ ।

सङ्घका उपाध्यक्ष वासुदेव लामिछानेले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा संस्थाका अर्जुन तिमिल्सिना, अर्जुन अधिकारी, झइन्द्र घिमिरे, बलराम बञ्जरा र प्रदीप पोखरेलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया