अमेरिकामा अल्छे तिघ्रो स्वादे जिब्रो -जय राम जी कि !

इनेप्लिज २०७२ असार ५ गते १:२९ मा प्रकाशित

bijay-2

अमेरिका ! अमेरिका !! अमेरिका !!! सपनाको संसार अमेरिका २४ सै घण्टा चल्छ l द्रुत गतिले नचलेको भए शायद अमेरिकाले यति ठुलो फड्को हान्ने सक्ने थियो या थिएन l अमेरिकामा फुर्तिलो भएन भने बेकम्बा कहलिन्छ l फुर्तिलो ,चुस्त ,छिटो र छरितो बनाउने अमेरिकाको विशेषता हो l अल्छि मानिस पनि यहाँ ब्रुस लि ,ज्याकी चान ,जेट लि जस्तो छिटो हुन्छन l सपनाको संसार छिर्ने बितिकै मानिसमा एक प्रकारको फुर्ति आउछ l फुर्ति यहाको डलरको कमाईले आउछ l महिनाबारी तलब नबुझी हप्ते ,पाक्षिक तथा हाता हातको कमाईले अल्छीलाई फुर्तिमा रुपान्तरित गरि दिन्छ l

यो देशमा अल्छि र अल्छे लाई डाडा कटाई दिन्छ l अल्छि भए उ बिक्दैन ,अल्छि गरे उसको लागि सबै दैलो बन्द हुन्छ l उसले भोको पर्नु पर्ने पनि हुन् सक्छ l अल्छिको अमेरिकामा १२ बज्छ l मालिकले अल्छि भए किलकिले समाती दिन्छ l अल्छि भए हण्डर खान्छ l अल्छि गरे घोक्रे ठ्याक लगाई दिन्छ l ताल पर्यो भने बाघे झापु पनि पाउछ l अल्छि हुने तर मिठो मिठो खोज्नेले कुकुरको दशा पनि पाउछ l कमाई न धमाई रहरको दाल ,कोपिको तरकारी ,बदेलको मासु पकाईनस भनि परिवारलाई आदेश दिने मानिस यहा थिलथिलो र अधकल्चो हुन्छ l

अल्छे भए काशी गएर विश्वनाथको दर्शन गरेर मुख धोएर आउनु पर्ने हुन्छ l अल्छेले अमेरिकालाई ससुराली जस्तो ठान्नु हुदैन l ज्वाई भनि ८४ व्यंजन खाउला भनि मुख मिठ्याउँन पाइदैन l अल्छिको घर भए उसले कुम्लो कसे हुन्छ l

अमेरिकामा मेहनत र परिश्रमलाई ईज्जत दिइन्छ l फुर्तिलो र काममा नथाक्नेलाई पुरस्कार गरिन्छ भने अल्छे तिघ्रो लाई यहाँ १९७५ को चर्चित भारतीय चलचित्र शोलेमा धर्मेन्द्रले हेमा मालिनीलाई बन्दुक सिकाउन भनि गरेको दुर्ब्यबहार पछि हेमा मालिनीले जय राम जी कि भनेर हिडेको जस्तो अल्छि लाई जय राम जी कि भनिन्छ l

अमेरिकामा अल्छिको ओखती भनेको नै काम हुन्छ l यहाँ नरन देखिको बल निकाल्नु पर्छ l अरबी घोडा जस्तै हुनु पर्छ l खैनी माड्दै ,चुरोट तान्दै र पान चपाउदै अल्छे भै काम गरे कुनै पनि समय तपाई नोकरीको हात धुनु पर्ने हुन्छ l

फुर्तिलो लाई हाई हाई हुन्छ भने अल्छे मानिसलाई बाई बाई हुन्छ l अल्छेको काल नै नोकरी दिने साहु र मालिक हुन्छ l नोकरी हत्केलामा राखेर जीवन चक्र चल्ने हुनाले अल्छिको निन्द्रा हराम हुन्छ l

अमेरिकामा अल्छे तिघ्रोलाई स्वत ठिक लगाइन्छ l काम चोरलाई यहाको अनुशासन,नियम ,कार्यपद्धतिले बक्र रेखाबाट सरल रेखामा ल्याई दिन्छ l कामको गर्ने आदत र रफ्तारले मानिसलाई नेपालको तुलनामा उमेर भन्दा १० बर्ष मुनि झारी दिन्छ l फुर्तिलो र रातो पिरो डलरको कमाइले गरि दिन्छ l अल्छिले मै हु भन्दै फुर्ति गरे तुरुन्तै नोकरीबाट चाधे(गलत्याई ) दिंदा होस् हवास गुमाउने हुन्छ l

अमेरिकामा कामको शैली,प्रक्रिया तथा कामको चापले मानिसलाई क्रियाशील ,स्वस्थ र फुर्तिलो बनाई दिन्छ l क्रियाशीलको अमेरिकामा कदर हुन्छ सुस्त र अल्छिको बदर हुन्छ l अल्छि कुनै बिशेष रोग नभै केवल एउटा मानसिक बाधा मात्र हुन्छ l ईक्षा शक्ति वृद्धि गरे अल्छि स्वत :निस्कृय हुन्छ l

जन्म जातले मानिस अल्छि हुदैन ,उसले अप्रत्यासित सुबिधा प्राप्त गर्यो र उपभोग गर्न पायो भने अल्छिको घर बन्दछ l देश ,काम गर्ने स्थान तथा वातावरणले मानिसलाई अल्छि तथा फुर्तिलो दुवै बनाई दिन्छ l मुग्लानमा आए पछि अल्छि बन्ने कि फुर्तिलो बन्ने त्यो हाम्रो हातमा निर्भर छ l

अमेरिकामा फुर्तिलोलाई हाउ यु डुइंग ले सम्बोधन गरिन्छ भने अल्छे तिघ्रे लाई ……शोलेमा बसंतिले जय राम जी कि भने जस्तै गरिन्छ l

प्रतिक्रिया