पुनःनिर्माण सम्मेलनमा विख्यात तीन व्यक्तित्व आउने

इनेप्लिज २०७२ असार ४ गते १२:५८ मा प्रकाशित

काठमाडौँ, ४ असार । यही असार १० गते आयोजना हुने ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनसहित ३४ मुलुक, जिमी कार्टरजस्ता विश्वविख्यात तीन व्यक्तित्व र विश्व बैंक, संयुक्त राष्ट्र सङ्घ, एसियाली विकास बैंकलगायत २२ बहुपक्षीय दातृ निकायलाई आमन्त्रण गरिएको छ ।

सम्मेलनको समाचार प्रभावकारी ढङ्गले सम्प्रेषण गर्ने उद्देश्यले आज सूचना विभागमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यमका प्रतिनिधिसँग छलफलमा अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले सम्मेलनमा नर्वेली विदेशमन्त्री, जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), श्रीलङ्काली विपद् व्यवस्थापनसम्बन्धी मन्त्री र बङ्गलादेशी अर्थमन्त्री सहभागी हुने जानकारी दिँदै अन्य विशिष्ट व्यक्ति सम्मेलनमा सहभागी हुने सूचना प्राप्त भइरहेको बताउनुभयो ।

विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले सार्कको अठारौँ शिखर सम्मेलनका बेला राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिबाट प्राप्त सहयोगको सराहना गर्दै दातृ निकायका उच्च पदाधिकारी सहभागी हुने अन्तर्राष्ट्रिय सम्मेलनमा पनि सोही किसिमको साथ र सहयोगको अपेक्षा नेपाल सरकारले गरेको बताउनुभयो ।

उहाँका अनुसार सम्मेलनस्थल सोल्टी होटलमा सञ्चार केन्द्र स्थापना हुने र उद्घाटन समारोहमा स्थिर तस्बिर र श्रव्यदृश्यका छविकारलाई प्रवेशको व्यवस्था मिलाइएको छ ।

“सुविधासम्पन्न मिडिया सेन्टरमा सम्मेलनका सबै गतिविधि एवम् जानकारी तत्काल उपलब्ध हुने र नेपाल टेलिभिजनबाट उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण हुने भएकाले सबै संवादातालाई मूल समारोहस्थलमा समेट्न कठिनाइ भएको छ”– उहाँले भन्नुभयो । झन्डै ५० स्थिर तस्बिर र श्रव्यदृश्यका छविकारलाई मात्र उक्त स्थानमा व्यवस्था गरिएको छ ।

सूचना विभागले जारी गरेको ‘प्रेस पास’ का आधारमा मात्र प्रवेश दिइने प्रस्ट्याउँदै महानिर्देशक कोइरालाले हालसम्म जापान, अमेरिका र स्पेनका सात सञ्चारकर्मीले सम्मेलनको समाचार सङ्कलनका लागि आवेदन गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया