नाला पाँच दिनमै भत्कियो

इनेप्लिज २०७२ असार ४ गते ४:२९ मा प्रकाशित

गौशाला, ४ असार । जलेश्वर नगरपालिकाले रु ५३ लाखको लागतमा यहाँ निर्माण गरेको नाला पाँच दिनमै भत्किएको छ ।

नगरपालिकाले जलेश्वरको जीवनज्योति युवा क्लब अगाडिदेखि जिल्ला अस्पताल हुँदै जिरोमाईलसम्म बनाएको ५०० मिटर लम्बाई भएको सो नाला पाँच दिनमै भत्किएको हो ।

कमसल निर्माण सामग्री प्रयोग गरी निर्माण गरिएको सो नालाको ५० मिटरभन्दा बढी भाग ढलेको, भत्केको र पुनः निर्माण गर्ने अवस्थामा पुगेको छ ।

जलेश्वर नगरपालिकाको आदेशमा सुगम निर्माण सेवा प्रालि जनकपुरले निर्माण गरेको सो नाला प्राथमिक आँखा उपचार केन्द्र र नेपाल विद्युत् प्राधिकरण अगाडि २० मिटर र लोकसेवा कार्यालय अगाडि लगातार ३० मिटर गरी जम्मा ५० मिटर नाला पूर्णरुपमा भत्केको छ ।

वर्षभरि केही नगरी बसेको जलेश्वर नगरपालिकाले असार लाग्ने वित्तिकै हतार हतारमा नाला निर्माण गर्न लागेको र सो नालाको निर्माण सम्पन्न नहुँदै पाँच दिनमै भत्किएको छ ।

निर्माण गरेको नाला पाँच दिनमै भत्किएपछि स्थानीयवासी आक्रोशित भएका छन् भने निर्माण कम्पनी फरार भएको छ ।

प्रतिक्रिया