इनेप्लिज २०७२ असार ३ गते १४:३९ मा प्रकाशित

UN..LOGO_

जेनेभा, ३ असार । गत वर्ष अर्थात् सन् २०१४ मा विश्वभरि जारी द्वन्द्व र हिंसाका कारण विश्वभरिबाट छ करोड व्यक्ति आफ्नो घर छोडी भागेका संयुक्त राष्ट्रसङ्घले बिहीबार जारी एक विज्ञप्तिमा जानकारी दिएको छ ।

सन् २०१४ मा यसप्रकार देश छोडी शरणार्थी बन्ने सङ्ख्या सन् २०१३ मा भन्दा ८३ लाख बढी भएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले जनाएको छ ।

सो निकायले यस प्रतिवेदनलाई ‘विश्वमा युद्ध’ भन्ने शिर्षक दिएको छ । सन् २०१३ मा जारी हिंसाको विश्वभरिबाट पाँच करोड एक लाख २० हजार व्यक्तिले घर छोडी भागेका थिए ।

यस प्रतिवेदनमा दिइएअनुसार एक करोड ९५ लाख व्यक्ति शरणार्थी बन्न पुगेका छन् भने एक करोड ८० लाख शरणको खोजीमा रहेका छन् ।

त्यसैगरी तीन करोड ८२ लाख जनाले भने आफ्नो घर छोडी भागे पनि आफ्नै देशमा शरणार्थीका रुपमा बस्दै आएका पाइएको बताइएको छ ।

विश्वभरिका यी शरणार्थीहरुमा आधाभन्दा बढी बालबालिका भएको जनाइएको छ । यो सङ्ख्या सन् २००९ को तुलनामा ४१ प्रतिशतले बढेको बताइएको छ ।

यसरी घर छोडी भाग्ने व्यक्तिको सङ्ख्यामा तीन वर्षयता ४० प्रतिशतले वृद्धि भएको बताइएको छ । सिरिया र इराकमा मात्र यसरी घर छोडी भाग्ने व्यक्तिको सङ्ख्या एक करोड ५० लाख रहेको बताइएको छ ।

युरोपमा सन् २०१४ मा दुई लाख १९ हजार शरणार्थीले भूमध्यसागरीय समुद्रपार गरी बसाइँसाराइ गरेका जनाइएको छ । सो सङ्ख्या सन् २०११ को तुलानामा तीन गुणाले बढी भएको जनाइएको छ ।

सन् २०१४ को अन्त्यमा विश्वको सबभन्दा बढी शरणार्थीलाई शरण दिँदै आएको देश टर्कीमा एक करोड ५९ लाख शरणार्थी रहेका र त्यसपछिका देशमा पाकिस्तानमा एक करोड ५१ लाख र लेबनानमा एक करोड १५ लाख रहेका छन् । रासस÷एएफपी

प्रतिक्रिया