बेपत्ताका परिवारलाई मृतकसरह सुविधा दिन निर्देशन

इनेप्लिज २०७२ असार ३ गते १४:१७ मा प्रकाशित

10390519_10153107071768999_1275911941292860647_nकाठमाडौँ, ३ असार । व्यवस्थापिका–संसद्ले भुइँचालो र हालैका बाढीपहिराका कारण भत्किएका संरचना र भवनका भग्नावशेषमा पुरिएर वा अन्य कारणले सशरीर उद्धार हुन नसकेका र जीवितै उद्धार हुने सम्भावना नभएका परिवारलाई मृतकसरहको सुविधा दिन निर्देशन दिएको छ । संसद्को राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिको आज बसेको बैठकले निश्चित अवधि गुज्रिई जीवित उद्धार हुन सक्ने सम्भावना नरहेका व्यक्तिका परिवार समेतलाई मृत घोषणा गरिएका अन्य परिवारसरहको सुविधा दिने व्यवस्था गर्न सरकारलाई निर्देश गरेको हो ।

भूकम्पमा परी निधन भएका परिवारलाई सरकारले किरिया खर्चबापत रु चालिस हजार र राहतका लागि रु एक लाख दिँदै आएको छ । उपसमितिका तर्फबाट सभासद् अग्निप्रसाद खरेलले सो प्रस्ताव राख्दै हराइरहेका र उद्धार हुन नसक्ने स्थिति भएकालाई सो सुविधान दिन सुझाव दिनुभयो । सोसम्बन्धी सुझाव निर्णयार्थ प्रस्तुत गर्दै समितिका सभापति सुवास नेम्वाङले मृत घोषणाका लागि कानुनी व्यवस्था भए पनि त्यस्ता पीडित परिवारलाई तत्काल राहत दिनुपर्ने देखिएकाले सो निर्णयमा पुग्न आग्रह गर्नुभएको थियो । समितिले तत्काल गर्नुपर्ने तत्कालिक कार्यका सम्बन्धमा सुझाव दिन पूर्णबहादुर खड्काको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको थियो ।

यसैगरी बैठकमा भूकम्प प्रभावित १९ जिल्लामा पुगेका सभासद् टोलीले पेस गरेको सुझाव प्रतिवेदनका आधारमा खड्का संयोजक रहेको उपसमितिले तयार गरेको एकीकृत प्रतिवेदनमाथि आज छलफल हुँदा त्यसलाई विपद्पछिको व्यवस्थापन, बस्ती स्थनान्तरण र भविष्यको तयारी, राहतमा देखिएका अनियमिततामा कारबाहीलगायत विषयमा निर्देशन दिने गरी पुनर्लेखन गर्न सभासद्ले सुझाव दिनुभयो । सभापति नेम्वाङले आइतबार साँझसम्म सो प्रतिवेदनमाथि लिखित सुझाव दिन आग्रह गर्दै त्यसपछि उपसमितिले पुनर्लेखन गरी समितिमा प्रस्तुत गर्ने जानकारी बैठकलाई गराउनुभयो । रासस

प्रतिक्रिया