असारभित्रै नयाँ संबिधान आउँछ: नेता भट्टराई

इनेप्लिज २०७२ असार ३ गते १२:०३ मा प्रकाशित

Baburam-Bhattaraiगोरखाबजार, ३ असार । पूर्वप्रधानमन्त्री तथा एमाओबादीका नेता डा बाबुराम भट्टराईले असार मसान्तभित्र संविधानसभाबाट नयाँ संविधान जारी हुने बताउनुभएको छ ।

गोरखा सदरमुकाममा आज पत्रकारसँग कुराकानी गर्दै नेता भट्टराईले भन्नुभयो, “प्रमुख राजनीतिक दलहरूबीच संबिधान निर्माणको विषयमा सहमति जुटेकाले धमाधम संविधान लेखनको काम अघि बढेको छ ।” “छुटेका विषयहरू राजनीतिक तहमै सुल्झाउने हो” उहाँले भन्नुभयो “मस्यौदा समितिले टुङ्ग्याउने भन्ने होइन ।”

आन्दोलनकारी शक्तिहरूबीच संविधान निर्माण गर्ने सहमति भएकाले नयाँ संबिधान जारी हुने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

हल्लाको भरमा जनता लाग्न नहुने भन्दै उहाँले यसअघि दलहरूबीच भएको धर्मनिरपेक्षता जस्ता ठूला विषय अब परिवर्तन नहुने उल्लेख गर्नु भयो ।

शक्ति बाँडफाटमा दलहरूबीच सहमति नभएको बताउँदै उहाँले राष्ट्रप्रमुख वा राष्ट्रपति के शब्द राख्ने भन्नेबारे बिबाद नभएको दाबी गर्दै राष्ट्रपतिको ठाउँमा राष्ट्रप्रमुख राख्दा खासै फरक नपर्ने धारणा राख्नु भयो ।

‘संबिधान जारी गरेर प्रधानमन्त्रीले छोड्छु भन्नुभएको छ’ उहाँले भन्नुभयो, “साउनमा राष्ट्रिय सरकार गठन हुन्छ ।”

प्रतिक्रिया