मासु पसलको अनुगमन

इनेप्लिज २०७२ असार ३ गते ११:१३ मा प्रकाशित

भक्तपुर, ३ असार । मध्यपुरथिमि नगरपालिकाभित्र सञ्चालित अधिकांश मासु पसल नियम विपरित सञ्चालन भएको पाइको छ ।

मध्यपुरथिमि नगरपालिका क्षेत्रमा सञ्चालित मासु पसलको आज गरिएको अनुगमनका क्रममा यहाँ सञ्चालित ८० प्रतिशत मासु पसल नियम विपरित सञ्चालन गरेको पाइएको छ । भेटनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वरको नेतृत्वमा जिल्ला पशुसेवा कार्यालय भक्तपुर, भेटनरी इपिडिमिलोजी, जिल्ला प्रशासन कार्यालय भक्तपुर, वाणिज्य विभाग, उपभोक्ता मञ्च, राष्ट्रिय उपभोक्ता मञ्च, मध्यपुरथिमि नगरपालिकाको टोलीले अनुगमनमा गरेको हो ।

टोलीले मध्यपुरथिमि नगरपालिका बाहाखा बजारमा सञ्चालित १० वटा पसलमा गरेको अनुगमनमा सातवटा पसल दर्ता नगरी अनियमित तरिकाले सञ्चालन गरेको पाइएको र दर्ता भएकाले पनि नवीकरण नै नगरी सञ्चालन गरेको पाइएको भेटनरी जनस्वास्थ्य कार्यालयकी पशु स्वास्थ्य प्राविधिक महेश्वरी देउजाले बताउनुभयो ।

टोलीले मध्यपुरथिमि बाहाखा बजारको ‘दिप मिट सप, एसएम मिट सप, मध्यपुर, फ्रेस हाउस, सुभश्री मिट सप, बाहाखा चिकेन मटन सप, अबिरल कोल्ड स्टोर एण्ड सप्लार्यसले दर्ता नगरी पसल सञ्चालन गरेको पाइएको छ । अनुगमनमा बोर्डसमेत नराखी खुला रुपमा मासु बेचेको, मासु फोहोर भएको, मूल्यसूची नराखिएको, कामदारले माक्स र एप्रोनको प्रयोग नगरेको, जालीको व्यवस्था नगरेको पाइएपछि टोलीले व्यवस्थित गर्न निर्देशन दिएको छ ।

कतिपयले बासी र सडेको मासु बिक्रीमा राखेको पाइएपछि टोलीले करिब पाँच किलो मासु डिस्पोज गर्नलगाई एक साताभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यायलका शाखा अधिकृत सुरेन्द्रराज थापाले बताउनुभयो ।

थिमिका रजनी श्रेष्ठ र लक्ष्मी खड्कीले खुला रुपमा सडकको किनारामै झि“गा भन्किएको मासु बिक्री गरेको पाइएपछि पसल बन्द गराई प्रशासनमा हाजिर हुन निर्देशन दिएको छ । अनुगनम टोलीले दर्ता नभई सञ्चालन गरेको मासु पसललाई १५ दिनभित्र दर्ता गर्न, समयभित्रै नवीकरण गर्न र साताभित्रै पसललाई व्यवस्थित र मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन दिएको थापाले बताउनुभयो ।

पुनःयस्तै गरी मासु पसल सञ्चालन गरेको पाइएमा त्यस्ता सञ्चालकलाई कारबाही गर्ने पशुसेवा कार्यालय भक्तपुरका प्रमुख डा बलबहादुर चन्दले बताउनुभयो ।

प्रतिक्रिया