म्याग्दीका पाँच गाउँ उच्च जोखिममा

इनेप्लिज २०७२ असार ३ गते ६:०१ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), ३ असार । विनाशकारी भूकम्प र त्यसयताका पराकम्पनका कारण म्याग्दीका विभिन्न गाउँ आसपासको जमिन चिरा पर्न थालेपछि म्याग्दीका पाँच गाउँ पहिरोको उच्च जोखिममा परेका छन् ।

बेनी नगरपालिका–४ को बगरफाँट, भकिम्ली गाविसको वडा नं ९ तोराखेत, सुर्केमेला, रायखोर र दग्नाम गाउँ पहिरोको उच्च जोखिममा परेका हुन्. ।

पहिलेदेखि नै पहिरोको जोखिममा रहेका यी गाउँमा भूकम्पका कारण थप धाँजा फाटेपछि बगरफाँट, तोरोखेत र रायखोर गाउँ तत्काल पुनःस्थापना गर्नुपर्ने देखिएको छ ।

पहिरोको उच्च जोखिममा रहेका बगरफाँट, तोराखेत र सुर्केमेलाका गरी २१० घर जुनसुकै बेला पनि पहिरोमा पर्न सक्ने देखिएको छ । बगरफाँटमा १४०, तोराखेतमा २० र सुर्केमेलामा ५० घर छन् । यी बस्ती पहिरोको उच्च जोखिममा रहेको जिल्ल भू–संरक्षण कार्यालयको अनुगमनबाट देखिएको जिल्ला भूसंरक्षण कार्यालय म्याग्दीका भूसंरक्षण अधिकृत दिवाकर पौडेलले बताउनुभयो ।

छ वर्षअघि २०६६ सालदेखि निरन्तर गाउँ जोखिममा भए पनि वैशाखमा गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण जमिन र घर सबै चर्किए पछि बर्खा सुरु हुनासाथ घर छोडेर अन्यत्र नै बस्ने गरेको बगरफाँटका भीमबहादुर कार्कीले बताउनुभयो ।

भूकम्पपछि जेठ अन्तिम सातादेखि वर्षा हुन थालेपछि पहिरो झर्ने क्रम बढेको छ । जमिनको सतह कमजोर रहेको पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न आवश्यक रहेको जिल्ला भूसंरक्षण कार्यालय म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया