नाला र ढल सफा गर्ने काम नहुँदा डुबानमा परिने चिन्ता

इनेप्लिज २०७२ असार ३ गते ५:५९ मा प्रकाशित

पथरी (मोरङ), ३ असार । वर्षायाम सुरु भइसक्दा पनि विराटनगर उपमहानगर क्षेत्रभित्रका नाला र ढल सफा गर्ने काम नहुँदा विराटनगरवासीलाई डुबानमा परिने चिन्ता बढेका छन् ।

ढल र नाला फोहरले भरिएको छ । सामान्य वर्षामै नाला भरिएर सडकमा पानी जम्ने समस्या वर्षौंदेखिको हो । ढल निकासको उचित व्यवस्था नहुँदा सामान्य वर्षामै विराटनगरका अधिकांश क्षेत्र जलमग्न हुने गरेको छ ।

एसियाली विकास बैंक (एडिबी)को सहयोगमा विराटनगर उपमहानगरपालिकाको करिब ६५ किलोमिटर क्षेत्रमा पक्की नाला निर्माण भइरहेको छ । तर निर्माणले गति नलिँदा यो वर्षको वर्षामा नगरवासीले सास्ती भोग्नुपर्ने निश्चित भएको छ । वर्षामा नाला र ढल भरिएर बस्तीमा पानी पस्दा सर्वसाधारणलाई सास्ती हुने गरेको नागरिक सरोकार मञ्चका अध्यक्ष मोहन भट्टराई बताउनुहुन्छ ।

“वर्षामा विराटनगरको मुख्य समस्या भनेकै डुबान हो” उहाँ भन्नुहुन्छ । “उपमहानगरले अझैसम्म पनि नाला र ढल सफा गरेको छैन ।” “जब पानी पर्न सुरु हुन्छ अनि उपमहानगरले नाला सफा गरेर ‘बेमौसमको बाजा’ बजाउने गरेको छ ।” हाल उपमहानगरभित्रका सडकको चौडाइ बढाउने नाममा छेउछाउका अधिकांश घर भत्काइएको छ ।

सडक छेउका घर भत्काउँदा टुक्रेइँटा, बालुवा, कचराले नाला भरिएको छ । नाला र ढल निर्माणलाई तीव्रता दिन उपमहानगरलाई दबाब दिइरहेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलको भनाइ छ । उहाँ भन्नुहुन्छ, “वर्षा सुरु हुनु अगाडि नै नाला र ढलको काम सक्न हामीले पटक–पटक उपमहानगरको ध्यानाकर्षण गराएका छौँ । फोहरले भरिएका नाला र ढल तत्काल सफा गर्न नागरिकस्तरबाट दबाब दिइरहेको उहाँले सुनाउनुभयो ।

उता निर्माणाधीन सडक र ढल निर्माण भइसकेपछि विराटनगरको डुबान समस्या दीर्घकालसम्मका लागि समाधान हुने उपमहानगरपालिकाका इन्जिनियर भरत न्यौपानेको दाबी छ । ढल र सडकको स्तरोन्नति तीव्रगतिमा भइरहेको छ, उहाँ भन्नुहुन्छ “ढल र नाला निर्माण भइसकेपछि नगरवासीले डुबान समस्याबाट छुटकारा पाउँछन् ।”

उपमहानगरको हिमालय रोड, विराटनगर–धरान रोडको सत्यनारायण मावि अगाडि, बसपार्क, पिचरा, केशलिया रोड, कलेज रोड, हाटखोला रोड, जनपथ रोडलगायतका मुख्य रोड सामान्य वर्षमै जलमग्न भई आवतजावतमा समस्या हुने गरेको छ । पानी जम्दा सडकसमेत जीर्ण हुने गरेका छन् । अझ पूर्वमा रहेको सिङ्घिया र पश्चिममा रहेको केशलिया नदीमा बाढी आउँदा बेला–बेला उपमहानगरभित्र छिर्ने गरेको छ । अघिल्ला वर्षायाममा पनि केशलियाको बाढी उपमहानगरभित्र प्रवेश गरेको थियो । जसका कारण उपमहानगरको ७, १५, १६ नम्बर वडा पूरै डुबेको थियो ।

दुवै नदीको प्रवेश गर्न सक्ने सम्भावित क्षेत्रको पहिचान गरी बाँध बाँध्न पर्ने स्थानीय रोहित पौडेल बताउनुहुन्छ । अहिलेदेखि नै पूर्वतयारी भएन भने विगतमा झैँ यो वर्ष पनि नगरवासीले धेरै दुःख पाउनुपर्ने अवस्था सिर्जना हुने उहाँको भनाइ छ । डुबान समस्याबाट नगरवासीलाई जोगाउन अहिलेदेखि नै सम्बन्धित निकायले रणनीति तयार गरेर काम सुरु गर्नुपर्छ– पौडेलले भन्नुभयो ।

प्रतिक्रिया