‘म नहुँदा संविधान निर्माणको काम नरोकियोस’

इनेप्लिज २०७२ असार २ गते १६:४३ मा प्रकाशित

DSC04838काठमाडौँ, २ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान लेखन र पुनःनिर्माणको काम तीव्र रुपमा सँगसँगै लैजाने बताउनुभएको छ ।

बैंककस्थित बुमरुमगाडमा नियमित स्वास्थ्य परीक्षण गर्न जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलमा उहाँले संविधान लेखनको काम संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति हुँदै संविधानसभाबाट मस्यौदा समिति पुगेर काम हुनु निकै महत्वपूर्ण काम भएको र सँगै भूकम्पपछि भत्किएका संरचनाहरुको पुनःनिर्माणको काम पनि जारी राख्नुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो–“संविधान लेखनको काम तीव्रताका साथ निर्णायक मोडमा पुगेको छ, संविधानसभाबाट मस्यौदा समितिमा पुगेको छ, दलहरुसँग भएको सहमतिअनुसार असार मसान्तसम्म संविधान जारी हुन्छ ।”
उहाँले आफ्नो अनुपस्थितिलाई लिएर संविधान लेखन र पुनःनिर्माणको काम नरोकिने भन्दै कार्यबाहक अध्यक्ष वामदेव गौतमले संस्थागत हिसाबले पार्टीको काम अघि बढाउने बताउनुभयो ।
अध्यक्ष ओलीले भूकम्पका कारण धेरैले परिवारका सदस्य, कतिपय बालबालिकाले अभिभावक गुमाएर पीडामा भएको अवस्थामा रहेको र अझै पनि जनजीवन सामान्य बनी नसकेकाले सरकार र दलहरुले यसलाई सामान्यतर्फ लैजाने प्रयास जारी राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
पुनःनिर्माणका लागि पार्टीका २०/३० हजार स्वयम्सेवक खटिएको र एक हजारभन्दा बढी स्कुल र २०औँ हजार घर निर्माण गरिसकेको जानकारीसमेत दिनुभयो ।
अध्यक्ष ओलीको गत वैशाख १३ गते नियमित स्वास्थ्य परीक्षणका लागि जानुपर्ने भए पनि भूकम्पका कारण ढिला भएको हो । नियमित स्वास्थ्य परीक्षण गरी उहाँ यही असार ८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया