‘एमालेले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्दैछ’

इनेप्लिज २०७२ असार १ गते १२:१६ मा प्रकाशित

bhim-rawalकाठमाडौँ, १ असार । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले संविधान जारी भएपछि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व आफ्नो पार्टीले गर्ने बताउनुभएको छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे रिपोर्टर्स क्लबले आज गरेको साक्षात्कारमा उहाँले राष्ट्रिय सहमतिको सरकारमा एमालेले प्रधानमन्त्री पद सम्हाल्ने मौखिक सहमति भइसकेको स्पष्ट गर्नुभयो ।

प्रमुख चार दलबीच गत जेठ २५ गते संविधान निर्माणका विषयमा भएको सोह्रबुँदे सहमतिअनुसार असार दोस्रो साताभित्र संविधान जारी हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

सोह्रबुँदे सहमतिप्रति असहमत दललाई पनि सहमतिमा ल्याउनु चुनौतीपूर्ण रहेको भन्दै उहाँले संविधानका निम्ति सबैले प्रयास गर्नैपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले आफ्नो पार्टीले संविधान जारी भएपछि राष्ट्रपति पद पाउने भए त्यसमा दलित वा जनजाति समुदायबाट उम्मेदवार बनाइने बताउनुभयो ।

“आजको आवश्यकता भनेको राष्ट्रिय सहमति हो,” उहाँले भन्नुभयो – “अहिले यो दल वा त्यो दल भन्नुभन्दा पनि भूकम्पपीडित दलका रुपमा मुलुकको पुनःनिर्माण र राष्ट्रिय सरकार बनाउनु मुख्य काम हो ।”

उहाँले सोह्रबुँदे सहमति ठूलो उपलब्धि भएको बताउँदै सहमति वा विमति लोकतन्त्रमा भइरहने र त्यहीबीचबाट सहमति हुनु ऐतिहासिक हो भन्नुभयो ।

एमाओवादीका सचिव वर्षमान पुनले सरकार आफ्नो प्राथमिकतामा नरहेको बताउँदै आफूहरु पदको बाँडफाँडमा नलागेको प्रष्ट्याउनुभयो । दु्रतमार्गबाट संविधान निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया