मंगलबार, माघ ४ २०७८
काठमाडौं १९:०६
वासिङटन डिसी 08:21

जनताको चाहनाअनुसार सहमति भएको होः नेता गच्छदार

इनेप्लिज २०७२ असार १ गते १२:१३ मा प्रकाशित

INDIA-NEPAL-DIPLOMACYविराटनगर, १ असार । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले जनताको चाहनाअनुरुप १६ बुँदे सहमति भएको बताउनुभएको छ ।

सो पार्टीद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले यस सहमतिको माध्यमबाट सङ्घीयतासहितको संविधान असार वा साउनको दोस्रो सातासम्ममा मुलुकले पाउने विश्वास व्यक्त गर्नुभयो ।

सहमतिलाई संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनका विशेष प्रतिनिधिले मुनले स्वागत गर्नुभएको जानकारी गराउँदै उहाँले युरोपेली मुलुकका साथै भारत, चीनलगायत छिमेकी मुलुकले समेत स्वागत गरेको बताउनुभयो ।

सीमाङ्कनसम्बन्धी गठन हुने विज्ञसहितको आयोगको सुझावमा संविधानसभाबाट पारित हुने उल्लेख गर्दै उहाँले उक्त आयोगले छ महिनाभित्रमै सीमाङ्कनको प्रतिवेदन पेस गर्ने जानकारी गराउनुभयो ।

नेता उपेन्द्र यादव र अशोक राईका पार्टीहरुको एकताको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले मधेस आन्दोलनबाट जन्मेकोे मधेसी जनअधिकार फोरमले ‘मधेसी’ शब्द छोडेपछि मधेस प्रदेश हुनुपर्छ भन्ने नैतिक अधिकार गुमाएको धारणा व्यक्त गर्दै अशोक राईले पनि आदिवासी जनजाति शब्द छोडेकाले सोही किसिमको अधिकार गुमाएको भन्नुभयो ।

उहाँले पार्टीबीच ध्रुवीकरण हुने उल्लेख गर्दै नेता गच्छदारले आगामी दिनमा आफ्नो पार्टी स–साना पार्टीबीच एकता हुने सम्भावना बलियो रहेको बताउनुभयो ।

उहाँले यस सहमतिप्रति विमति जनाउने पार्टीलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया