बेनी–जोमसोम सडकको ठाउँ–ठाउँमा पहिरो, पर्यटक र भक्तजनलाई सास्ती

इनेप्लिज २०७२ असार १ गते ३:४९ मा प्रकाशित

मुस्ताङ, १ असार । वर्षायाम सुरु भएसँगै बेनी–जोमसोम सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्दा पर्यटक र भक्तजनले सास्ती खेप्नुपरेको छ । एकमात्र सडक मार्ग अवरुद्ध हुँदा जिल्लाको पर्यटन क्षेत्र प्रभावित बनेको छ ।

वैशाखदेखि साउन महिनासम्म विदेशी पर्यटकभन्दा भारतीय भक्तजन मुक्तिनाथ दर्शन र कागेबेनीमा स्नानका लागि आउने भए पनि तीन सातादेखि सडक अवरुद्ध हुँदा न्यून सङ्ख्यामा मात्रै भक्तजन आएका छन् । ७२ किलोमिटर सडकखण्डको मार्फा, रुप्से झरना, तिब्ल्याङ र बैसरीमा पहिरो खस्दा सिधा सवारी साधन सञ्चालनमा आउन सकेको छैन । पोखरा–जोमसोम हवाई मार्गबाट केही भारतीय र विदेशी पर्यटक आउन थाले पनि मौसमले साथ नदिएको पर्यटन व्यवसायीको भनाइ छ ।

ठाउँ–ठाउँमा पहिरो खसेपछि यात्रु तीन ठाउँमा गाडी परिर्वतन गरेर जानुपर्ने बाध्यता सिर्जना भएको मुस्ताङ जिप तथा बस सञ्चालक समितिका अध्यक्ष जयन्द्र थकालीले बताउनुभयो । मार्फामा भत्केको सडकको भाग नेपाली सेनाले मर्मत गरे पनि जोखिम कायम रहेको उहाँको भनाइ छ ।

जोमसोमदेखि घासासम्म मुस्ताङ समिति र घासादेखि बेनीसम्म म्याग्दी समिति मातहतका करिब ५०० जिप तथा बस सञ्चालनमा रहेका छन् । बैसरीमा कालीगण्डकी नदी थुनिँँदा पुरेको करिब तीन किलोमिटर सडकको नयाँ बाटो खोल्ने काम भइरहेको छ । उक्त बाटो नखोलेसम्म सिधा सवारी साधन सञ्चालन गर्न नसक्ने म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठको भनाइ छ ।

“सडक विभागले बाटो बनाउने काम गरिरहेको छ, अब त्यो सकियो भने बल्ल सिधा सवारी साधन सञ्चालन हुन्छ”, उहाँले भन्नुभयो, “वर्षायामका कारण अन्य स्थानमा समस्या आइरहेको छ ।” म्याग्दी र मुस्ताङ समिति पछिल्लो समय दुई वटा गाडी सिधा सञ्चालन गरेका थिए । बेनी–जोमसोम सडकखण्ड अवरुद्ध हुँदा पर्यटन क्षेत्रलाई ठूलो असर गरेको होटल व्यवसायी सङ्घ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिनुभयो । “भूकम्प पछि ठाउँ–ठाउँमा गएको पहिरोले बाटो अवरुद्ध छ, यो याममा भक्तजनले भरिभराउ हुन्थ्यो तर, अझै सुनसान नै छ”, उहाँले भन्नुभयो । पछिल्लो समय साविकको भन्दा पर्यटक र भक्तजनको चहलपहल बढ्दै गएको उहाँको भनाइ छ ।

प्रतिक्रिया