दुर्गम ग्रामीण क्षेत्रमा कम्प्युटरमा शिक्षा दिइदै

इनेप्लिज २०७२ जेठ ३१ गते १०:२३ मा प्रकाशित

computerकालीकोट, ३१ जेठ । ग्रामीण क्षेत्रमा पहिलो पटक कम्प्युटर शिक्षा सुरु भएपछि स्थानीयस्तरका विद्यार्थी उत्साहित भएका छन् ।

जिल्लाको विकट मानिएको मेहलमुडी गाविसमा सञ्चालनमा ल्याइएको प्राविधिक विषयको कम्प्युटर शिक्षाले शिक्षामा नयाँ पन दिएको छ । गाउँका बालबालिकाले धुलो माटोमा रम्दै अध्ययन गरेको अवस्थामा कम्प्युटर शिक्षाले विद्यार्थीमा खुसियाली छाएको स्थानीय अभिभावकको भनाइ रहेको छ । मेहलमुडी गाविसको पञ्चदेवल उच्च माविमा सञ्चालनमा ल्याएको सामुदायिक विद्यालय क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गतको कम्प्युटर शिक्षाबाट ज्ञान हासिल गर्न सम्भव भएको हो । कक्षा ९ र १० का विद्यार्थीले अध्ययन गर्ने गरेको सो प्रविधिबाट प्रवेशिका परीक्षासमेत दिएका छन् ।

आर्थिक वर्ष २०७०/०७१ मा सञ्चालनमा ल्याएको उक्त कम्प्युटर कक्षाबाट ३२ जनाले शिक्षा हासिल गरेको मुख्य प्रशिक्षक सन्तोष शाहीले बताउनुभयो । उहाँका अनुसार शिक्षा मन्त्रालय, शिक्षा विभागबाट ३२ वटा कम्प्युटर, प्रिन्ट तीन वटा, फोटोकपी एक र फ्याक्स मेसिन एक र ३२ वटा सोलार प्रणालीको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ७५ प्रतिशत अनुदानमा प्राप्त भएको छ । सबै गरी रु ३२ लाखको सामग्री विद्यालयमा आएको बताइएको छ । यस वर्ष त्यस क्षेत्रका ४१ जना छात्रछात्राले अध्ययन गर्दै आएका छन् ।

कैयाँंै विद्यार्थीले जिल्ला बाहिर गएर प्राविधिक शिक्षा हासिल गर्नुपर्दा कैयौँ रकम खर्चिने गरेको भए पनि आफ्नै गाउँमा कम्प्युटर शिक्षा लिन पाएकामा विद्यार्थीमात्र होइन अभिभावक समेत खुसी भएका छन् । स्थानीय अभिभावक नमराज शाहीले आफूहरुका छोराछोरीले कम्प्युटर सिक्न सुर्खेत नेपालगन्ज जानुपर्ने बाध्यताबाट मुक्ति पाएको बताएका छन् ।

पञ्चदेवल उच्च मावि मेहलमुडीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण सञ्ज्यालले लामो प्रयासले कम्प्युटर शिक्षा सञ्चालन गरेको बताउँदै विद्यार्थीले ज्ञान सीप लिएर व्यवहारमा लागू गरेर व्यावसायिक बनाउने योजना रहेको उल्लेख गर्नु भयो ।

कम्प्युटर शिक्षाका लागि सरकारले ७५ जिल्लामा एक–एक वटा विद्यालयमा कम्प्युटर कक्षा सञ्चालनमा ल्याएको बताइएको छ ।

प्रतिक्रिया