संविधान आएपछि सुखका दिन आउने छन्: प्रधानमन्त्री

इनेप्लिज २०७२ जेठ ३० गते १५:३२ मा प्रकाशित

Nepal-Prime-Minister-Sushil-Koiralaकाठमाडौँ, ३० जेठ । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा लोकतान्त्रिक संविधान जारी भएपछि सुखका दिन आउने बताउनुभएको छ ।

प्रधानमन्त्री निवासमा आज भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञ सभाको बैठकमा प्रतिष्ठानको कुलपतिसमेत रहनुभएका उहाँले उक्त कुरा बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कोइरालाले मुलुकमा संविधान आउने अवस्था सिर्जना भएको बताउँदै भन्नुभयो, “संविधानको कुरा गर्दा म सधैँ आशावादी थिएँ, लोकतन्त्र नभइ, संविधान नभइ शान्ति, स्थायित्व र विकास हुँदैन ।”

उहाँले देशका ३०/४० लाख युवा कामको खोजीमा बाहिरिनु परेको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, “नेपालीले साह्रै दुःख पाएका छन्, हामीले पनि दुःख पायौँ, लोकतान्त्रिक संविधान आएपछि भावी सन्ततिले दुःख पाउने छैनन् ।”

नेपालले आफ्नो प्राकृतिक स्रोत साधनको सदुपयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो,“ पानी बगिरहेको छ, हामीले प्रयोग गर्न सकेका छैनौँ, आफूले नसकेपछि कसैको मद्दत नलिइ हुँदैन, भारतसँग विद्युत् व्यापार सम्झौता (पीटीए) भएको छ । विभिन्न कम्पनीसँग परियोजना विकास सम्झौता (पीडिए) भएको छ, त्यसले लगानीको वातावरण बनिरहेको छ ।”

उहाँले कृृषिको समुचित र दिगो विकासका लागि सिँचाइ र सडक सुविधा पुर्‍याउन, पर्यटनका पूर्वाधार विकास गर्न र नेपाललाई पर्यटकीय गन्तव्य बनाउन पनि मुलुकमा शान्ति र स्थायित्व अपरिहार्य भएको बताउँदै भन्नुभयो, “अशान्तिको वातावरणमा कसैले लगानी गर्दैन ।”

आपसी एकताबाट नै राष्ट्रियताको जग सुदृढ हुने दोहोर्‍याउँदै प्रधानमन्त्रीले भन्नुभयो, “जबसम्म नेपालमा हामी एकजुट हुँदैनौ, राष्ट्रियता पनि मजबुत हुँदैन ।”

उहाँले भूकम्पबाट भएको विनाशपछि समस्त नेपालीमा नवनिर्माणको चुनौती थपिएको बताउँदै भन्नुभयो, “आधुनिक नेपाल बनाउने अवसर आएको छ, सबै लागेर यसलाई सफल तुल्याऔँ, प्रतिबद्धताको साथ लागेमा नहुने केही छैन ।”

प्रधानमन्त्री कोइरालाले मानव विकास सूचकाङ्कमा सबैभन्दा पछाडि परेको कर्णाली अञ्चलमा चिकित्साशास्त्र पढाउने ‘मेडिकल कलेज’को स्थापना हुनु गौरवको विषय भन्दै त्यसलाई भौतिक पूर्वाधार, आवश्यक उपकरण र दक्ष जनशक्तिले सम्पन्न बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

बैठकले प्रतिष्ठानको वार्षिक प्रतिवेदन, आव २०७१/०७२ को लेखा परीक्षणको प्रतिवेदन र २०७०/०७१ को संशोधित तथा २०७१/०७२ को प्रस्तावित योजना तथा कार्यक्रमसहितको वार्षिक बजेट पनि स्वीकृत गरेको छ ।

बैठकमा प्रतिष्ठानका सहकुलपति एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी, प्रतिष्ठानका उपकुलपति डा पारसकुमार आचार्यसहित विभिन्न प्राज्ञ सभासद्ले प्रतिष्ठानलाई स्रोत साधनले सम्पन्न बनाएर सो क्षेत्रमा सबै खाले रोगको उपचार गर्न सक्ने सक्षम संस्थाका रुपमा प्रतिष्ठानलाई विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया