सिन्धुपाल्चोकका दुई दर्जन विद्यालय अझै खुलेनन्

इनेप्लिज २०७२ जेठ ३० गते १५:२७ मा प्रकाशित

Sindhulpalchok-district-locationचौतारा (सिन्धुपाल्चोक), ३० जेठ । भूकम्पपछिको सुख्खा पहिरो, असुरक्षित बस्ती र भूक्षयका कारण जिल्लाका आधा दर्जन गाविसका दुई दर्जन विद्यालय अझै सञ्चालन हुन सकेका छैनन् ।

भूकम्प तथा पराकम्पनका कारण सबभन्दा बढी क्षति भोगेको सिन्धुपाल्चोक जिल्लामा सञ्चालनमा आएका विद्यालयमा पनि विद्यार्थीको पूर्ण उपस्थिति हुन सकेको छैन । चल्न नसकेका तातोपानी, बरुवा, गोल्चे, घोर्थली, पाङताङ, जेठल र गुम्बा गाविसका ती विद्यालय सोही स्थलमा सञ्चालन गर्ने वा स्थानान्तरण गर्ने भन्नेबारेमा निर्णय भइसकेको छैन ।

जिल्ला शिक्षा अधिकारी दीलनाथ पुरीका अनुसार चल्न नसकेका विद्यालयमा तातोपानीको मानसरोबर आवासीय विद्यालय, गुप्तेश्वरी प्रावि, बरुवाका गाङ्गखर्क प्रावि र झिर्पु उमावि, भूमाचौर प्रावि, लार्के प्रावि, भोताङ, ज्ञानखर्क प्रावि, झिर्पु, सम्पदा निमावि, जेठल, गोल्चेका ह्युलदेवी निमावि, निम्लङ प्रावि र सिन्दुर्चे प्रावि, गुम्बाका बोल्दे निमावि, तेम्बाथाङ प्रावि, सातकन्या निमावि, गोल्डेगाउँ प्रावि र क्याङासिङ प्राविलगायत छन् ।

यस्तै गौतम प्रावि पाङताङ, सुन्दरदेवी प्रावि, घोर्थली सञ्चालनमा नआएको उहाँले बताउनुभयो ।

भूकम्प प्रभावित १४ जिल्लामा सरकारको निर्णयअनुसार गत जेठ १७ गतेदेखि विद्यालय खुल्नुपर्ने भए पनि भौगोलिकरुपमा खतरामा रहेका त्यस्ता ठाउँका विद्यालयमा सञ्चालनमा नआउँदा त्यहाँका अभिभावक र विद्यार्थी अन्योलनमा छन् ।

शिक्षा अधिकारी पुरीले हावाहुरी, तुफान, सुख्खा पहिरो र बस्ती धाँजा फाटेको तथा त्यहाँ बस्ती राख्न मिल्ने नमिल्ने भन्ने स्पष्ट भइनसकेका कारण त्यस्ता गाउँका विद्यालय बन्द रहेको बताउनुभयो ।

जिल्लामा सामुदायिक र निजी गरी कुल ५९१ विद्यालय छन् । भूकम्पका कारण ४६८ विद्यालय प्रभावित र ४००९ कक्षाकोठा ध्वस्त भएका छन् । हालसम्म ११३ विद्यालयमा मात्र प्राविधिक परीक्षण गरी स्टिकर लगाउने कार्य पूरा भएको छ ।

भूकम्पले २७ शिक्षक र १०१ विद्यार्थीको मृत्यु भएको छ । विपद्मा शिक्षाः सहयोग र अनुगमन मञ्चले गरेको अनुगमनमा चौतारालगायत अधिकांश ठाउँका विद्यालयमा खानेपानी र शौचालयको समस्या देखिएको छ । विद्यालय भवन ध्वस्त भएको बतासेस्थित कालिकादेवी उमाविमा अनुगमन टोली पुग्दा शिक्षक, विद्यार्थी र स्वयम्सेवकले भग्नावशेष पन्छाउने, अस्थायी सिकाइ केन्द्र निर्माण गर्ने काम गरिरहेका थिए । प्रधानाध्यापक धर्मदत्त सापकोटाले विद्यार्थी घरमा भन्दा विद्यालयमा रमाउन थालेको बताउँदै पानी र शौचालयको समस्या उत्पन्न भएको बताउनुभयो ।

जिल्लाका ३१ गैरसरकारी संस्थाले अस्थायी सिकाइ केन्द्रलगायतका लागि सहयोगको सम्झौता गरे पनि समयमा काम हुन नसकेको र एक साताभित्र कार्यप्रारम्भ नगर्ने संस्थाको सम्झौता भङ्ग गर्ने तयारीमा जिल्ला शिक्षा कार्यालय रहेको छ ।

प्रतिक्रिया