तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

इनेप्लिज २०७२ जेठ ३० गते ४:३० मा प्रकाशित

phone-callingखोटाङ, ३० जेठ । जिल्लाको दक्षिणी क्षेत्रमा तीन हप्तादेखि सबै प्रकारका टेलिफोन सेवा अवरुद्ध भएको छ ।

यही जेठ ९ गते राति चलेको हावाहुरीले टेलिफोनको टावर ढालेपछि दक्षिणी क्षेत्रका सेवाग्राहीले प्रयोग गर्ने स्काई तथा नमस्ते मोबाइल सेवा अवरुद्ध भएको हो ।

हावाहुरीका कारण काहुले र चिसापानीको सिमानामा पर्ने होङ्मापोखरी तथा खोटाङबजारमा जडान गरिएको टेलिफोन टावरमा क्षति पुगेपछि दक्षिणी क्षेत्रका २२ भन्दा बढी गाविस सञ्चार सेवाबाट विच्छेद भएको सेवाग्राहीले जनाएका छन् ।

पानीसँगै अचानक चलेको हावाहुरीले होङ्मापोखरी र खोटाङबजारस्थित नेपाल टेलिकमको टावर ढालेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो ।

टेलिफोन टावरमा क्षति पुगेपछि काहुले, चिसापानी, खोटाङबजार, डम्वर्खुशिवालय, सावाकटहरे, सिम्पानी, लिकुवापोखरी, इन्द्रणीपोखरी, चिप्रिङ, वाप्लुखा, बडकादियाले, बोपुङ, दिप्लुङ, मौवाबोटे, बराहापोखरी, लिच्किराम्चे, देविस्थान, पौवासेरा, फाक्टाङ, सुन्तलेलगायत छिमेकी जिल्ला उदयपुर र भोजपुरका केही गाविसमा समेत सञ्चार सेवा अवरुद्ध बनेको छ ।

टेलिफोन सेवा अवरुद्ध भएपछि इमेल, इन्टरनेटका माध्यमबाट सञ्चालन हुने वित्तीय संस्था तथा आइएमइ सेवासमेत प्रभावित भएको भगवती उच्च मावि खोटाङबजारका शिक्षक सन्तोष ढकालले जानकारी दिनुभयो ।

हाल उदयपुरको चित्रेमा रहेको टावरले भेट्ने ठाउँमा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ । होङ्मापोखरी र खोटाङबजारको टावरले काम नगरेपछि त्यस क्षेत्रका सेवाग्राही घण्टौं हिँडेर चित्रेको टावरले काम गर्ने ठाउँमा पुगेर टेलिफोन गर्न बाध्य छन् ।

अवरुद्ध टेलिफोन केही दिनमा सुचारु हुने नेपाल टेलिकम खोटाङका प्रमुख भरोषी साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “टावर सुचारु गराउन चिसापानी र खोटाङबजारमा आवश्यक सामान पु¥याउने काम भइरहेको, आवश्यक सामान पुग्नासाथ प्राविधिक टोली पठाएर टावर पुनःमर्मत गरिने छ ।”

प्रतिक्रिया