प्रधानमन्त्री उद्धार कोषमा ४४ लाख ५० हजार हस्तान्तरण

इनेप्लिज २०७२ जेठ २९ गते ११:२९ मा प्रकाशित

Nepali worker living in Malaysia Submits Relief Fund to the PMकाठमाडौँ, २९ जेठ । भूकम्प पीडितको राहतको लागि डोल्पा समाजलगायतका सङ्घ संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ४४ लाख ५० हजार भन्दा बढी रकम हस्तान्तरण गरेका छन् ।

ती संस्थाका प्रतिनिधिले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशील कोइरालालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा डोल्पा समाजका अध्यक्ष लामा निमा रेन्पोछेले प्रधानमन्त्री कोइरालालाई रु सात लाख नगद हस्तान्तरण गर्नुभयो ।
डोल्पा समाजले सभासद् धनबहादुर बुढाको नेतृत्वमा स्थानीय लामाहरुबाट उक्त रकम सङ्कलन गरेर भूकम्प पीडितका राहतका लागि कोषमा जम्मा गरेको हो ।

त्यसैगरी मुलुकभर छरिएर रहेको पुन मगरहरुको साझा संस्था पुन समाज नेपालले प्रधानमन्त्री कोइरालालाई उक्त कोषमा जम्मा हुने गरी रु २० लाख सात हजार ७०० को चेक हस्तान्तरण गरेको छ ।  उक्त समाजको पहलमा वेलायतबाट सहयोगस्वरुप रु १५ लाख सङ्कलन भएको थियो ।

समाजले झण्डै रु १० लाख बराबरको राहत सामग्री म्याग्दी र कास्की जिल्लामा वितरण गरेको सो अवसरमा जानकारी दिइयो । त्यसैगरी नेपाल पस्मिना उद्योग सङ्घले प्रधानमन्त्री राहत कोषमा रु १० लाख आज जम्मा गरेको छ । सङ्घले प्रधानमन्त्री कोइरालालाई प्रधानमन्त्री निवास बालुवाटारमा हस्तान्तरण गरेको हो ।

सहयोग र सरोकार केन्द्र धुलिखेलले भूकम्प पिडीतको राहतका लागि प्रधानमन्त्री राहत कोषमार्फत रु पाँच लाख प्रदान गरेको छ । राष्ट्रिय आवास कम्पनीले पनि उक्त कोषमा रु दुई लाख जम्मा गरेको छ ।
भोजपुर जिल्ला स्थायी घर भइ मलेसियाको भेनस सेरोमिक्स कम्पनीमा कार्यरत कामदारहरुको पहलमा नेपाली, भारतीय, मलेसियाली, भियतनामी र चिनीया कामदारबाट सङ्कलन गरिएको रु एक लाख २१ हजार ३७५ को चेकसमेत आजै प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरिएको छ ।

उनीहरुले सो रकम व्यवस्थापिका संसद सुशासन तथा अनुगमन समितिका सभापति शेरधन राईमार्फत कोषमा जम्मा गर्न पठाएका हुन् । त्यसैगरी प्रधानमन्त्री कोइरालालाई जर्मनीमा कार्यरत निनाम्मा राईले व्यक्तिगत रुपमा भूकम्प पीडितका लागि रु ५० हजार चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा दाताहरुले भूकम्प पीडितका लागि उपलब्ध गराएको सहयोग आवश्यकताअनुरुप पारदर्शी ढङ्गले खर्च गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री कोइरालाले पीडितका लागि प्रदान गरिएको राहत रकम अनियमितता हुन नदिने विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया