भूकम्प गएको महिनामै निकुञ्ज घुम्ने पर्यटक सात हजार घटे, तर राजस्व सन्तोषजनक

इनेप्लिज २०७२ जेठ २९ गते ११:१५ मा प्रकाशित

chitwan-national-park-82420रत्ननगर (चितवन), २९ जेठ । चितवन राष्ट्रिय निकुञ्जमा भूकम्प आएको वैशाख महिनामा पर्यटक सङ्ख्या सात हजारले घटेको पाइएको छ ।

तर वैशाखसम्मको तथ्याङ्कमा पर्यटक आगमन र राजस्व सङ्कलन भने सन्तोषजनक रहेको पाइएको निकुञ्जले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७०÷७१ को वैशाख महिनामा १७ हजार पर्यटकले निकुञ्ज घुमेको तथ्याङ्क छ । तर चालु आर्थिक वर्षको वैशाखमा १० हजार पर्यटकले मात्रै निकुञ्ज घुमेका छन् ।

अघिल्लो वैशाखमा निकुञ्जले रु दुई करोड ४५ लाख राजस्व सङ्कलन गर्न सफल भएकामा यो वर्षको वैशाख महिनामा एक करोड ९३ लाखमात्रै राजस्व सङ्कलन भएको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिनुभयो ।

भूकम्पको असरका कारण वैशाखमा पर्यटक घटे पनि वैशाखसम्मको १० महिनाको मूल्याङ्कनमा भने पर्यटक आगमन र राजस्व सङ्कलन राम्रै देखिएको छ ।

अहिलेको जेठ महिनामा भने झनै पर्यटक घट्ने देखिएको उहाँले बताउनुभयो । भूकम्पको असर सबै क्षेत्रमा परेका बेला निकुञ्जमा समेत असर परेको छ ।

चालु आर्थिक वर्षको वैशाखसम्मको मूल्याङ्कनमा भने पर्यटक आगमन र राजस्व सङ्कलनमा खासै असर नपरेको थपलियाको भनाइ छ । अघिल्लो आर्थिक वर्षको वैशाखसम्ममा एक लाख ५१ हजार पर्यटकले निकुञ्ज घुमेको र रु १९ करोड ३९ लाख राजस्व सङ्कलन भएको थियो ।

चालु आर्थिक वर्षको वैशाखसम्ममा भने एक लाख ६५ हजार पर्यटकले निकुञ्ज घुमेका छन् । उनीहरुबाट कुल रु २४ करोड ४१ लाख राजस्व सङ्कलन गर्न सफल भएको सहायक संरक्षण अधिकृत थपलियाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७०÷७१ मा कुल एक लाख ७३ हजारले निकुञ्जको भ्रमण गरेको र उनीहरुबाट रु २४ करोड ६८ लाख राजस्व सङ्कलन भएको छ । अहिले वैशाखसम्ममै अघिल्लो आर्थिक वर्षसरहको राजस्व सङ्कलन गर्न निकुञ्ज सफल भएको छ ।

यसअघि निकुञ्जमा आर्थिक वर्ष २०६९÷७० मा कुल एक लाख ५३ हजार पर्यटकले निकुञ्जको भ्रमण गरेकामा रु २१ करोड १५ लाख राजस्व सङ्कलन भएको थियो ।

यहाँ निकुञ्ज प्रवेश गर्दा अन्य विदेशीलाई प्रतिव्यक्ति रु एक हजार ५००, सार्कराष्ट्रका लागि प्रतिव्यक्ति रु ७५० र आन्तरिक पर्यटकका लागि एक जनाको रु १०० राजस्व लिने गरिएको छ ।

निकुञ्जको आम्दानीको स्रोतमध्ये सबैभन्दा बढी प्रवेश शुल्कबाटै आउने गर्दछ । चितवन निकुञ्जमा पर्यटक वन्यजन्तु अवलोकनका लागि आउने गरेका छन् ।

प्रतिक्रिया