दुर्लभ सारस पाँच वर्षपछि देखियो

इनेप्लिज २०७२ जेठ २९ गते २:४३ मा प्रकाशित

sarasगुलरिया (बर्दिया), २९ जेठ । चरा संरक्षण अभियानमा लागेका संरक्षणकर्मीसहितको टोलीले बर्दियाका बढैया तालमा दुर्लभ चरा सारस फेला पारेका छन् ।

विश्व वातावरण दिवसको अवसर पारी नेपाल पक्षी संरक्षण सङ्घको आयोजनामा बढैया ताल आसपासमा सरसफाइ गर्ने क्रममा टोलीले दुर्लभ चरा सारस फेला पारेका हुन् । झण्डै पाँच वर्षपछि बढैया तालमा दुर्लभ सारस जोडी देख्न पाइएको चरा संरक्षणकर्मी रामबहादुर शाहीले बताउनुभयो ।

“उड्ने चरामध्यकै विश्वकै अग्लो चरा सारस बेला बेलामा बढैया तालमा पहिले सधैँ देख्न पाइन्थ्यो । पाँच वर्ष भयो, देख्न पाइएको थिएन” शाहीले भन्नुभयो ।

संसारकै दुर्लभ चरामध्ये सारस पनि एक हो । नेपालको नौवटा संरक्षित पक्षीमध्ये सारस पनि पर्छ । सारस सङ्कटापन्न अवस्थामा पुग्न लागेको सारस नेपालको लुम्बिनी, सुक्लाफाँटामा र बर्दियामा देख्न सकिन्छ ।

सारससँगै जल अप्सरा, नकटा हाँस चरा, नर्टन पिन्टेल, नर्टन सोलोभल, ग्रे हेरोइनलगायत १३ प्रजातीका थप नयाँ चरा फेला परेका छन् । नेपालमा पाइने ८७१ प्रजातिका चरामध्ये बर्दियामा ४६९ प्रजातीका चरा पाइने नेपाल पक्षी संरक्षण सङ्घका पुजा गुरुङले बताउनुभयो ।

प्रतिक्रिया