राखेप सदस्य सचिव लामाको विदाई

इनेप्लिज २०७२ जेठ २८ गते १४:४८ मा प्रकाशित

yubaraj-lamaकाठमाडौँ, २८ जेठ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव युवराज लामाको चार वर्षीय कार्यकाल समाप्त भएको छ ।

विसं २०६८ जेठ २९ गते एकीकृत नेकपा माओवादी पार्टीबाट सदस्य सचिवको रुपमा नियुक्त हुनुभएको लामासहित आज छ जना सदस्यलाई राखेपले एक कार्यक्रमको आयोजना गर्दै विदाई ग¥यो ।

विदाई हुने सदस्यमा नम्बर शेर्पा ह्याल्मो, कुसुमकुमारी श्रेष्ठ, मुकुन्द पहरी, पहलसिंह घर्ती, इन्द्रबहादुर थिङ र देवकुमार लामा हुनुहुन्छ । देवकुमारले भने पहिले नै राजीनामा दिनुभएको थियो । उहाँको कार्यकाल असार ६ गतेसम्म थियो ।

सदस्य सचिव लामाले आफनो चार वर्षीय कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । कुनै पनि खेलकुद सङ्घ र त्यसका खेलाडीलाई पार्टीगत हिसाबले नहेरी निश्पक्ष भएर सबैको हितमा काम गरेको उहाँकोे भनाइ छ ।

“खेलकुद क्षेत्रको विकास र विस्तारको लागि सम्पूर्ण राजनीतिक दलका नेतालाई खेलकुदको बारेमा अवगत गराउन सकेमात्र खेलकुदको विकास हुन सक्छ ”सदस्य सचिव लामा भन्नुहुन्छ ।

सभासद् एवम् नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीव विक्रम शाहले सदस्य सचिव लामाले आफनो कार्यकालमा निश्पक्ष भएर काम गरेको टिप्पणी गर्दै खेलकुद क्षेत्रमा सवैको एकता भएमात्र खेलकुदको विकास हुने धारणा राख्नु भयो ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको अध्यक्ष देवेन्द्र शेरचनले सदस्य सचिव लामाको कार्यकालमा विभिन्न खेलका खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सफलता हासिल गर्दै राष्ट्रको नाम उच्च राखेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया