भारतीय विदेशमन्त्रीसँग अर्थमन्त्रीको भेटवार्ता

इनेप्लिज २०७२ जेठ २७ गते १५:१७ मा प्रकाशित

sushma-swarajramsaran-mahatकाठमाडौँ, २७ जेठ । मुलुकको पुनः निर्माणमा बाह्य सहयोग जुटाउने उद्देश्यले आगामी असार १० गते यहाँ आयोजना हुने दाता सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्रीलाई आमन्त्रण गर्न नयाँदिल्ली पुग्नुभएका अर्थमन्त्री डा रामशरण महतले विदेशमन्त्री सुषमा स्वाराजसँग आज अपराह्न भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा अर्थमन्त्री महतले भूकम्पबाट नेपालमा धनजनको व्यापक क्षति भएको जानकारी दिँदै विपत्को यो घडीमा छिमेकीका हैसियतले भारतले पु¥याएको सहयोगप्रति आभार प्रकट गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

विकट भौगोलिक अवस्था र प्राकृतिक विपत्तिको कमजोर तयारीमा पनि सरकारले प्रभावकारी ढङ्गले उद्धार तथा राहतका काम गरेको बताउँदै अर्थमन्त्रीले भारतसहित अन्तर्राष्ट्रिय समुदायबाट तत्काल उपलब्ध सहयोग प्रभावकारी भएको जानकारी दिनुभयो ।

उहाँले सांस्कृतिक सम्पदाहरुले भरपुर नेपालका मूल्यवान सम्पदा नष्ट भएका, विद्यालय, सरकारी भवन, निजी घर ध्वस्त भएका र कतिपय गाउँलाई नै स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको जानकारी पनि दिनुभयो ।

अबको निर्माण एवम् पुनःनिर्माण भूकम्प प्रतिरोधी हुने बताउँदै असार १० गते हुने दाता सम्मेलनमा भारतबाट पनि ठूलो सहयोगको अपेक्षा नेपालले गरेको उल्लेख गर्नुभयो ।

विदेशमन्त्री स्वराजले छिमेकीका नाताले विपत्मा परेको नेपाललाई सक्दो सहयोग गर्न भारत तयार रहेको बताउनुभयो ।

भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय तथा दूतावासका वरिष्ठ अधिकारीका साथै भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया