मुलुकको भविष्यप्रति प्रधानमन्त्री आशावादी

इनेप्लिज २०७२ जेठ २७ गते १५:०३ मा प्रकाशित

Lalitpur Sub-Metropolitan City Office submits relief fund to theकाठमाडौं, २७ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकको भविष्यप्रति आफू आशावादी रहेको बताउनुभएको छ ।

भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहायता रकम प्रदान गर्न आउनुभएका स्वदेशी तथा विदेशी दाताहरुसँग आज प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

उहाँले मुलुकको शान्ति, स्थायित्व र विकासका लागि लोकतान्त्रिक संविधान अपरिहार्य भएकाले सबै राजनीतिक दल सहमतिमा संविधान बनाउन एकजुट भएर लागेका बताउनुभयो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज कम्युनिष्ट पार्टी अफ इन्डिया (माक्र्सवादी) का महासचिव सीताराम यचुरीले रु पाँच करोड २१ लाख ३८ हजार ९९३ को चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उक्त रकमको चेक बुझेपछि प्रधानमन्त्रीले संविधान निर्माणपछि नेपालले विकासको बाटो पहिल्याउने बताउँदै देशले संविधान पाउनेबित्तिकै आफूले पदत्याग गर्ने जानकारी दिनुभयो ।

महासचिव यचुरीले प्रधानमन्त्री कोइरालाको त्यागबाट आफू प्रभावित भएको भन्दै उहाँले पदीय लोभबाट मुक्त पश्चिम बङ्गालका मुख्यमन्त्री स्वर्गीय ज्योति बसु र दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलापछि प्रधानमन्त्री कोइरालाको नाम थपिने बताउनुभयो ।

कोषमा कृषि विकास बैंकले रु एक करोड ५० लाख प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले उक्त रकमको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभयो ।

यसअघि उक्त बैंकले रु ५० लाख एक हजार १०१ र कर्मचारीबाट सङ्कलित रु एक करोड ६० लाख प्रदान गरेको थियो ।

त्यसैगरी सिटिजन बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले रु एक करोड नौ लाख ९० हजार ८७५, ललितपुर उपमहानगरपालिकाका तर्फबाट कार्यकारी प्रमुख ताराबहादुर कार्कीले रु १२ लाख नौ हजार ३८५, युनाइटेड फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनन्दबहादुर श्रेष्ठले रु ११ लाख, नेपाल क्लियरिङ हाउसले रु १० लाख प्रदान गरेको छ ।

त्यस्तै नेपाल प्राइम इन्टरटेन्मेन्टले रु पाँच लाख र नेपाल लेखक समाजका पदाधिकारीले संयुक्त रुपमा रु एक लाख प्रदान गरेका छन् ।

उद्धार कोषमा व्यक्तिगत रुपमा करनलाल र गीता श्रेष्ठले रु १० लाख, तीलकराज कडेँलले रु आठ लाख १३ हजार ३९१, नेपाल भूल एकता समाजका सल्लाहकार सदस्य कालुसिंह भूल, स्पेस भूल र सुरज भूलले रु एक लाख ५१ हजार दाखिला गर्नुभएको छ ।

प्रतिक्रिया