बुधबार, माघ १२ २०७८
काठमाडौं ०५:०३
वासिङटन डिसी 18:18

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः धनगढी र जनकपुरको विजयी सुरुआत

इनेप्लिज २०७२ जेठ २७ गते १४:४७ मा प्रकाशित

cricket-bat-and-ball-310x210चितवन, २७ जेठ । राष्ट्रिय खेलकुद परिषद्को तत्वावधानमा नारायणगढको क्याम्पाचौरमा आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

पहिलो खेलमा क्षेत्र नं ४ भैरहवालाई ७ विकेटले पराजित गर्दै क्षेत्र नं ९ धनगढीले विजयी सुरुवात गरेको हो । पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८४ रन जोडेको थियो । जवाफी व्याटिङमा उत्रेको धनगढीले १५ ओभर २ बलमा ३ विकेट गुमाएर लक्ष्य प्राप्त ग¥यो । सो खेलको ‘म्यान अफ दी म्याच’ ३१ रन बनाउनुभएकी निर्मला शाही हुनुभयो ।

त्यस्तै आजै भएको दोस्रो खेलमा क्षेत्र नं ७ जनकपुर ९ विकेटले विजयी भयो । क्षेत्र नं २ वीरगन्जले निर्धारित २० ओभरमा पूरै विकेट गुमाएर ६७ रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रेको क्षेत्र नं ७ जनकपुरले ११ ओभर २ दुई बलमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

चितवनमा पहिलोपटक राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता भएको हो । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दुईमध्ये एक समूहको खेल यहाँ भएको हो । अर्काे समूह खेल भने पोखरामा भएको छ ।

२० ओभरको सो प्रतियोगितामा नौ क्षेत्रीय र एक विभागीय सशस्त्र प्रहरीसहित कुल १० महिला टोलीको सहभागिता छ । समूह चरणअन्तर्गतको ‘बी’ मा क्षेत्र नं २, क्षेत्र नं ४, क्षेत्र नं ६, क्षेत्र नं ७ र क्षेत्र नं ९ रहेका छन् । ती खेल आजदेखि यही ३१ गतेसम्म नारायणगढको क्याम्पाचौर मैदानमा गरिने क्रिकेट सङ्घ चितवनका अध्यक्ष कैलाश प्रधानले जानकारी दिनुभयो । सेमिफाइनल र फाइनल खेल भने पोखरामै हुनेछन् ।

समूह ‘ए’ मा क्षेत्र नं १, ३, ५ र ८ तथा सशस्त्र प्रहरी महिला टोली पोखरामा भिड्नेछन् । आगामी असार १ गते पोखरामा पहिलो र दोस्रो सेमिफाइनल खेल हुनेछन् भने असार २ गते पोखरामा नै फाइनल तथा तेस्रो स्थानका लागि खेल हुने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया