शनिबार, माघ १५ २०७८
काठमाडौं ०९:४५
वासिङटन डिसी 23:00

दलीय सहमतिको महासचिव बानद्वारा स्वागत

इनेप्लिज २०७२ जेठ २७ गते १४:३२ मा प्रकाशित

ban-ki-moon-e1421026566898काठमाडौँ, २७ जेठ । संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनले संविधान बनाउन नेपालका राजनीतिक दलले गत सोमबार गरेको सहमतिको स्वागत गर्दैै त्यसलाई नेपालको प्रजातान्त्रिक विकासका निम्ति एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।

महासचिव बानले गए राति अबेर एक वक्तव्य जारी गरी सहमतिमा पुग्न राजनीतिक दलका नेताले प्रदर्शन गरेको परिश्रमपूर्ण प्रयास तथा रचनात्मक नेतृत्वको सराहना गर्नुभएको छ ।

“गत महिनाका ठूला भूकम्पले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थितिमा भएको यो उपलब्धि विशेषरुपमा प्रशंसनीय छ,” महासचिवका तर्फबाट उहाँका प्रवक्ताले जारी गरेको वक्तव्यमा भनिएको छ ।

सहमति कार्यान्वयनका लागि निर्णायक कदम चाल्न राजनीतिक नेतृत्वलाई अभिप्रेरित गर्दै महासचिवले नेपालीको बृहत् हितका खातिर सबै पक्षसँग परामर्श गरेर संविधान लेखनका बाँकी विषय टुङ्ग्याउन अनुरोध गर्नुभएको छ ।

महासचिव बानले नेपालको शान्ति प्रक्रिया र पुनःनिर्माणमा राष्ट्रसङ्घको प्रतिबद्धता दोहोर्‍याउँदै त्यसमा राष्ट्रसङ्घले निरन्तर सघाउने स्पष्ट गर्नुभएको छ ।

प्रतिक्रिया