सेनाद्वारा खोज, उद्धार, राहत, भग्नावशेष हटाउने कार्य जारी

इनेप्लिज २०७२ जेठ २७ गते १४:२५ मा प्रकाशित

army_sindhupalchokकाठमाडौँ, २७ जेठ । नेपाली सेनाले विनाशकारी भूकम्पपछि रसुवाको लाङटाङ उपत्यकामा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकको शव खोजी कार्यका लागि खट्टिएको नेपाली सेनाको विशेष तालिम प्राप्त रेन्जर गणको डिजास्टर एसिसमेन्ट एन्ड रेस्पोन्स टिमले खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।

साथै रसुवा जिल्लाको स्याफ्रुवेशीबाट केन्जिङसम्मको बाटो खुलाउने कार्यको लागि समेत नेपाली सेना प्रयासरत रहेको छ । सेनाले आज बिहानसम्म दोलखा जिल्लाको गोंगरदेखि सिंगटी सडकखण्डमा ७०० मिटर पहिरो हटाई १५.२ किमी सडक खुलाएको छ ।

आजै नेपाली सेनाले हवाई साधनद्वारा भूकम्प प्रभावित धादिङको सेर्टुङ गाविसको हिन्दुङमा दुई हजार २०० किलो खाद्यान्न र एक हजार १५० किलो राहत सामग्री पुर्‍याएको छ ।
आजपनि उपत्यकाका २५ वटा केन्द्रमा १३ वटा पानी ट्याङ्करद्वारा दुई लाख ७६ हजार ५०० लिटर खानेपानी वितरण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

त्यसैगरी उपत्यकाभित्र वसन्तपुर दरबार स्क्वायर, त्रिपुरेश्वरस्थित नारायण मन्दिर, थापाथलीस्थित नेपाल राष्ट्र बैंक, साँखुस्थित नारायण मन्दिर, बुङमतिस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, चाँगुनारायण मन्दिर एवम् बनेपास्थित चण्डेश्वरी मन्दिरको पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेष व्यवस्थापन गर्ने कार्र्य गरिरहेको छ भने पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपूर्ण वस्तुहरुको सुरक्षासमेत गरिरहेको जनाएको छ ।

प्रतिक्रिया