दलहरुको प्रतिबद्धता पूरा हुने चरणमा: मन्त्री निधि

इनेप्लिज २०७२ जेठ २७ गते १२:१९ मा प्रकाशित

Rss_Images_1433928005309_AR-Ktm-Sammanकाठमाडौँ, २७ जेठ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधिले संविधानका बारेमा दलहरुको प्रतिबद्धता पूरा हुने चरणमा पुगेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन काठमाडौँले महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको सहयोगमा आयोजना गरेको सञ्चार सामग्री वितरण कार्यक्रममा मन्त्री निधिले संविधानसभा बाहिर रहेका दलहरु पनि सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले १६ बुँदे सहमति कार्यान्वयन गरी तत्काल संविधान जारी गर्नेतर्फ लाग्न सबैलाई आग्रह गर्नुभयो ।

आठ प्रदेश बनाउने सहमतिप्रति आफ्नो पनि व्यक्तिगत रुपमा असन्तुष्टि रहेको बताउँदै मन्त्री निधिले सानातिना विषयलाई पछि समाधान गर्न सकिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले मुलुकलाई मूल कानुन चाहिएको छ, मूल कानुन बनेपछि अन्य विषय विस्तारै समाधान गर्न सकिन्छ ।”

मन्त्री निधिले स्थानीय निकायको निर्वाचन भएको भए अहिलेको विपद् व्यवस्थापनमा सजिलो हुने तर्क गर्दै चाँडै स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका सभासद् उदयशमशेर राणाले भूकम्पबाट पत्रकारहरु पनि पीडित हुँदासमेत जनतालाई सूचना प्रवाह गर्न अहोरात्र खटिएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सङ्कटको अवस्थामा निरन्तर खटिएका पत्रकारलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले भूकम्प आइरहेका बेलामा पनि जनताको सेवामा खटिनेमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसँगै सञ्चारकर्मीहरु पनि भएको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले महेन्द्रनारायण मेमोरियल अस्पतालमा प्रेस युनियन वा पत्रकार महासङ्घको संस्थागत सिफारिसमा उपचारका लागि आउने पत्रकारलाई विशेष छुटको व्यवस्था गर्ने घोषणा गर्नुभयो ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पत्रकारहरुको छाता सङ्गठन भएर पनि नेपाल पत्रकार महासङ्घले राहत वितरणमा पक्षपात गरेको आरोप लगाउनुभयो ।

नेपाल प्रेस युनियन काठमाडौँका अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधान, वरिष्ठ पत्रकार हरिहर विरही, कविर राणा, समिरजङ्ग शाह, युनियनका महासचिव अजयबाबु शिवाकोटी, काठमाडौँ युनियनका सल्लाहकार जीवन भण्डारीलगायतले पीडित पत्रकार राहत पाउनबाट वञ्चित नहुन् भन्नेतर्फ युनियनले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा युनियनका पूर्व अध्यक्षहरु कुलचन्द्र वाग्ले, मुरारी शर्मालगायतको उपस्थिति थियो ।

सो अवसरमा भूकम्पपीडित १०० भन्दा बढी पत्रकारलाई पावर ब्याङ्क, पेनड्राइभ र रिचार्ज कार्ड वितरण गरिएको थियो ।

पराजुली सम्मानित

राष्ट्रिय समाचार समितिको सञ्चालक सदस्यमा हालै नियुक्त हुनुभएका गङ्गाधर पराजुली आज सम्मानित हुनुभएको छ ।

नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाले उहाँलाई सम्मान गरेको हो । प्रेस युनियन र पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष पराजुलीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री निधिले सम्मान गर्नुभएको थियो ।

गत बुधबार सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले उहाँलाई मन्त्रिस्तरीय निर्णयबाट रासस सञ्चालक समितिमा नियुक्त गर्नुभएको थियो । यस्तै, भर्खर राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएका तेजप्रकाश पण्डितलाई पनि काठमाडौँ शाखाले सम्मान गरेको छ ।

प्रतिक्रिया