नेपालको पुनःनिर्माणमा सहयोग गर्न भारत सरकार तयार छ: महासचिव यचुरी

इनेप्लिज २०७२ जेठ २७ गते १२:१६ मा प्रकाशित

Communist Party of India (Marxist) leader Sitaram Yechury submitकाठमाडौँ, २७ जेठ । भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादी लेनिनवादीका महासचिव सीताराम यचुरीले नेपालको पुनःनिर्माणमा भारत सरकार र आफ्नो पार्टी सहयोग गर्न सधैँ तयार रहेको बताउनुभएको छ ।

भूकम्पपीडितको सहयोगार्थ रकम हस्तान्तरण गर्न नेपाल आउनुभएका महासचिव यचुरीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर रु पाँच करोड २२ लाखको चेक हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

उक्त सहयोग रकम भारतका कुनै पुँजीपति वा उद्योगपतिको नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो– “दुई दिनमा हाम्रा कार्यकर्ताले भारतका जनतासँग सहयोग मागेर जुटाएको रकम हो ।”

नेपाल दुःखी हुँदा भारत रमाउन नसक्ने भन्दै उहाँले नेपाल र भारतबीच ठूलो दाइभाइको सम्बन्ध नभई जुम्ल्याहा दाजुभाइको सम्बन्ध रहेको छ भन्नुभयो ।

“नेपालको संविधान कस्तो बन्ने भन्ने निर्णय नेपालले नै गर्नुपर्छ” – उहाँले भन्नुभयो– “सल्लाह सबैको लिनुपर्छ तर निर्णय आफ्नो हुनुपर्छ । भारत स्वतन्त्र भएपछि राज्य पुनःसंरचना हुन १० वर्ष लाग्यो । त्यसैले संविधानको ढाँचा कस्तो बनाउने नेपाली दलको सहमतिमा नै हुनुपर्छ ।”

भर्खरै दलबीच भएको सोह्र बुँदे सहमतिको स्वागत गर्दै महासचिव यचुरीले एक महिनाभित्र दलहरुले संविधानको ढाँचा तयार पारिसक्नेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया