नेपाली युवाले जिते बेलायतको ‘दि रे क्रक अवार्ड’

इनेप्लिज २०७२ जेठ २७ गते ४:२५ मा प्रकाशित

भक्तपुर, २७ जेठ । भक्तपुरका एक नेपाली युवकले अन्तर्राष्ट्रिय फास्टफुड चेन म्याकडोनाल्ड्सको ‘दि रे क्रक अवार्ड’ (म्यानेजर अफ दि इयर २०१५) पाएका छन् ।

भक्तपुरको दत्तात्रय घर भई छ वर्षदेखि बेलायतमा पढ्दै आएका २५ वर्षीय प्रमेशराज गिरीले म्याकडोनाल्ड्स युरोप भरका एक हजार ४०० प्रतिस्पर्धीलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् ।

बेलायतमा रेस्टुराँको व्यापार वृद्धिका लागि गरेको योगदानका आधारमा म्याकडोनाल्ड्सले हरेक वर्ष प्रदान गर्ने उक्त अवार्ड यस वर्ष नेपाली युवाले जितेका हुन् ।

यसै साता चेक गणतन्त्रको राजधानी प्रागस्थित कोरिनथिया होटलमा आयोजित सम्मान कार्यक्रममा गिरीलाई सो अवार्ड प्रदान गरिएको बेलायतबाट गिरीले बताउनुभएको छ ।

अमेरिकी फ्रेन्चाइज कम्पनी म्याकडोनाल्ड्सका संस्थापक रे क्रकको नाममा स्थापना गरिएको सो अवार्ड पाएपछि गिरीले भन्नुभयो– “बेलायतमा अध्ययनसँगै रोजगारीका लागि सङ्घर्ष पनि धेरै हुन्छ, मेरो सङ्घर्ष र इमान्दारिताको कदर बेलायतमा भएको छ, यसले नेपालको नाम अझ उच्च भएको छ ।”

प्रतिक्रिया