तानसेनमा दैनिक दश लाख लिटर खानेपानी अपुग

इनेप्लिज २०७२ जेठ २७ गते ४:२४ मा प्रकाशित

Drinking-Waterपाल्पा, २७ जेठ । गर्मी बढेसँगै पाल्पा जिल्ला सदरमुकाम तानसेनमा खानेपानीको हाहाकार भएको छ । पहाडी जिल्ला पाल्पा सदरमुकाम तानसेनमा खानेपानीको मुहानसमेत सुकेका छन् ।

तानसेनमा दैनिक २५ लाख लिटर खानेपानीको आवश्यकता रहेकामा अहिले दैनिक साढे १५ लाख लिटर पानी वितरण भइआएको छ । दैनिक १० लाख लिटर पानीको अझै पनि अपुग रहेको छ ।

तानसेन आसपासका क्षेत्रका खानेपानीको मुहान सुक्नु, बर्सेनि खानेपानीको प्रयोगकर्ता बढ्नु र थप खानेपानीको व्यवस्था हुन नसक्नु खानेपानीको समस्या चर्कनुका मुख्य कारण हुन् ।

तानसेन खानेपानी उपभोक्ता समितिले दुई हजार ६८१ घरमा खानेपानीको धारा वितरण गरेको छ । तानसेन नगरपालिकाभित्र आठ हजार ४११ घरपरिवार रहेका छन् । उपभोक्ता समितिले बाँडेको धारा अपर्याप्त रहेको तानसेनवासीको भनाइ छ ।

तानसेन–३ आन्दोलनचोकका स्थानीय बासिन्दा सरोज शाक्यले पहिला दुई दिनमा एकपटक धारामा पानी आउने गरेकामा अहिले सातामा एक घन्टा मात्रै पानी आउन गरेको गुनासो राख्नुभयो । सातामा एक पटक पानी आउँदा निकै समस्या हुने गरेको उहाँको भनाइ छ ।

चार वर्षअघि पनि तानसेनमा साढे १५ लाख लिटर खानेपानी वितरण गरिएको थियो ।

दश लाख लिटर पानीको माग पूरा गर्न डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय र तानसेन खानेपानी उपभोक्ता समितिले खानेपानीको स्रोतको पहिचान गरी काम अगाडि बढाएको समितिका अध्यक्ष चोकरमान शाक्यले बताउनुभयो ।

तानसेनमा दुई करोड ४५ लाख ४९ हजार लिटर मासिक रुपमा खानेपानी वितरण भइआएको तानसेन खानेपानी उपभोक्ता समितिको दाबी छ । तानसेनमा आलोपालो गरी पानी वितरण हुँदै आएको छ ।

प्रतिक्रिया