घरमा बसी बसी सूचना प्राप्त गर्न सकिने

इनेप्लिज २०७२ जेठ २७ गते ४:२२ मा प्रकाशित

250px-Kailali_district_locationधनगढी, २७ जेठ । कैलाली जिल्लाका विभिन्न छ सरकारी कार्यालयका महत्वपूर्ण सूचना अब सेवाग्राहीले अनलाइन प्रविधिमार्फत घरमा बसी बसी प्राप्त गर्न सकिने भएको छ ।

राष्ट्रिय सूचना आयोगले अनलाइन प्रविधिमार्फत एमआइएस प्रणाली स्थापना गरेपछि कैलाली जिल्लाका छ वटा सरकारी कार्यालयका सूचना प्राप्त गर्न सकिने भएको हो ।

राष्ट्रिय सूचना आयोगका शाखा अधिकृत राजु सत्यालले जिल्ला शिक्षा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला विकास समिति, सडक डिभिजन कार्यालय र जिल्ला हुलाक कार्यालयबाट चाहिएको सूचना यो प्रविधिबाट प्राप्त गर्न सकिने बताउनुभयो ।

आयोगको वेबसाइटमा गई कैलाली जिल्ला र सम्बन्धित कार्यालय छनोट गरेपछि आवश्यक सूचना सहजरुपमा प्राप्त गर्न सकिने सत्यालले बताउनुभयो ।

आयोगको वेबसाइट धधध।mष्क।नयख।लउ रहेको छ । सरकारका काम कारबाहीलाई प्रजातान्त्रिक पद्धतिअनुरुप खुला र पारदर्शी बनाई जनताप्रति जवाफदेही बनाउन र सुसूचित हुन पाउने नागरिकको मौलिक हकको संरक्षण एवम् प्रचलन गराउन २०६२÷६३ मा भएको राजनीतिक परिवर्तनपछि सूचनाको हकसम्बन्धी ऐन २०६४ निर्माण गरिएको हो ।

ऐनमा सूचना अधिकारीले तत्काल दिन सकिने सूचना तत्कालै र तत्काल दिन नसकिने सूचना १५ दिनभित्र सूचना माग गर्ने सेवाग्राहीलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

यद्यपि, अझै पनि कतिपय कार्यालयमा सूचना अधिकारी नतोकिएको र यी कार्यालयका महत्वपूर्ण सूचना सेवग्राहीले सहजरुपमा पाउन नसकेको अवस्था रहेको छ ।

हाल सुदूरपश्चिमाञ्चलका कैलाली, डोटी, डडेल्धुरा र कञ्चनपुर जिल्लासहित देशका १४ जिल्लाका सरकारी कार्यालयका आवश्यक सूचना अनलाइन प्रविधिमार्फत माग गर्न सकिने व्यवस्था गरिएको बताइएको छ ।

प्रतिक्रिया