बघौडा क्षेत्रमा दश प्रतिशतले मात्रै शौचालय प्रयोग गर्छन्

इनेप्लिज २०७२ जेठ २७ गते ४:०६ मा प्रकाशित

cartoon-toilet-1नेपालगन्ज, २७ जेठ । बाँके जिल्ला राप्ती नदीपारीको बघौडा क्षेत्रअन्तर्गत सात गाविसमा १० प्रतिशत नागरिकले मात्र घरमा शौचालय निर्माण गरेका छन् ।

सो क्षेत्रको गङ्गापुर, फत्तेपुर, काँलाफाँटा, लक्ष्मणपुर, नरैनापुर, कटकँुइया र मटहैया गाविसका सात हजार ५०० घरधुरीमध्ये ६५९ घरधुरीले मात्र शौचालय निर्माण गरेका छन् ।

जिल्ला विकास समितिको २०७२ चैत मसान्तसम्म बाँके जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियानमा यो तथ्याङ्कले ठूलै चुनौती थपेको छ ।

कुल ३४ गाविस, एक उपमहानगरपालिका र एक नगरपालिका रहेको यस जिल्लाका नौ गाविस मात्र अहिलेसम्म खुला दिसामुक्त गाविसको सूचीमा परेका छन् ।

नेपालगन्जबाट करिब १४ किलोमिटर पूर्वमा अवस्थित सो क्षेत्र वर्षौंदेखि पछौटेपनको नियति भोग्न बाध्य छ भने नेपालगन्जसँग जोड्ने बाटो र आवश्यक पुल, पुलेसा नहुँदा त्यहाँका जनता दैनिक जीवनका आवश्यक सामान खरिद गर्न सीमापारि भारतीय बजार पुग्न बाध्य छन् ।

जिल्ला विकास समितिले वार्षिक योजनामा त्यस क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माण तथा सामाजिक विकासका योजना र कार्यक्रम सञ्चालन गरे पनि प्रतिफल भने निरासाजनक हुने गरेको पाइएको छ ।

“जिल्लाको अन्य गाविसभन्दा यो क्षेत्रमा धेरै योजना सञ्चालन गरिए पनि उपभोक्ता समितिको विवाद र अति राजनीतिकरणका कारण योजनामा खर्च हुने रकम सधैँ बालुवामा पानी हालेसरह जस्तै छ,” स्थानीय विकास अधिकारी जीवलाल भुसालले भन्नुभयो ।

सो क्षेत्रमा २० वर्षअघि गाडिएको विद्युत् खम्बामा तार तानिएको छैन भने सरकारले चालु आवदेखि थालेको नेपालगन्ज बघौडा जोड्ने सडक र पुल निर्माणको योजना सुरुवातमै तुहिएको छ ।

भारत सरकारको सहयोगमा भारतीय ठेकेदार कम्पनीले जिम्मा पाएको सो योजनाको सुरुवाती कामलगत्तै ठेकेदार कम्पनीले हात झिकेपछि योजना तुहिएको हो ।

सो हुलाकी सडक निर्माणको जिम्मा सरकारले लिएपछि नेपाली ठेकेदारबाट आगामी आवबाट काम थाल्ने प्रक्रिया सुरु भइसकेको जिविसले जनाएको छ ।

प्रतिक्रिया