प्रसूति गृहलाई लाखौँको उपकरण प्रदान

इनेप्लिज २०७२ जेठ २७ गते ३:३९ मा प्रकाशित

Baglung_district_locationबागलुङ, २७ जेठ । सुरक्षित मातृत्व र शिशु स्याहारका क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयसँग मिलेर काम गरिरहेको ‘वन हार्ट वल्र्ड वाइड’ ले आठ वटा प्रसूति गृहलाई उपकरण प्रदान गरेको छ ।

संरचना निर्माणमा समेत आर्थिक सहयोग गर्दै आएको उक्त संस्थाले प्रसूति गृह सञ्चालनका लागि चाहिने सबै प्रकारका उपकरण र सामग्री प्रदान गरेको हो ।

वन हार्टका कार्यक्रम निर्देशक सूर्य भट्टले जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठलाई मङ्गलबार ती उपकरण हस्तान्तरण गर्नुभएको थियो । नयाँ प्रसूति गृह सञ्चालनको तयारीमा रहेका दुदिलाभाटी, तारा, बिहुँ, बोङ्गादोभान, अधिकारीचौर, देवीस्थान, जलजला र दगातुम्डाँडा स्वास्थ्यचौकीलाई उपकरण दिइएको निर्देशक भट्टले जानकारी दिनुभयो ।

“प्रसूति गृहमा चाहिने सबै स्वास्थ्य उपकरण र सामग्री प्रदान गरेका छौँ,” निर्देशक भट्टले भन्नुभयो – “एउटा प्रसूति गृहमा रु तीन लाख बराबरको उपकरण पुगेको छ ।”

उपकरण सञ्चालनका लागि विद्युत् नहुँदा वैकल्पिक प्रयोगका लागि सबै गृहमा सौर्य ऊर्जा प्रणाली पनि प्रदान गरिएको वन हार्टले जनाएको छ । अत्याधुनिक प्रसूति शय्या, टेबल, हिटर, बत्ती, बच्चाको तौल लिने यन्त्रलगायत ३४ प्रकारका उपकरण प्रदान गरिएको निर्देशक भट्टले बताउनुभयो ।

प्रसूति गृह निर्माणका क्रममा पनि वन हार्टले कुल लागतको ७० प्रतिशत आर्थिक सहयोग दिने गरेको छ । “सम्बन्धित गाविसको ३० प्रतिशत र वन हार्टको ७० प्रतिशत योगदान छ,” निर्देशक भट्टले भन्नुभयो – “स्वीकृत प्राप्त, पूर्वाधार सम्पन्न, लेवर रुम, वेटिङ रुम, पानीको सुविधा, सरसफाइयुक्त भएमा मात्र उपकरण दिएर सहयोग गर्छौं ।” आठवटै प्रसूति गृहमा गरेर रु २४ लाखको उपकरण सहयोग गरिएको वन हार्टले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठका अनुसार हालसम्म जिल्लामा रहेका ३५ वटा स्वास्थ्य केन्द्रमा प्रसूति गृह सञ्चालनमा आइसकेका छन् ।

गाउँमै प्रसूति सेवा सुरु भएपछि गर्भवती महिलालाई ठूलो राहत मिलेको दुदिलाभाटी स्वास्थ्य केन्द्रकी प्रमुख याममाया रानाले बताउनुभयो । उहाँले केन्द्रमा रहेको प्रसूति गृहबाट वर्षमा ६० जना महिलालाई प्रसूति गराउने लक्ष्य लिइएको उल्लेख गर्नुभयो । जिल्लामा हटिया स्वास्थ्यचौकीले सबैभन्दा बढी वर्षमा करिब २०० प्रसूति गराउने गरेको छ ।

प्रतिक्रिया