धनसिंहपुरको जग्गा विवादको समस्या समाधान गर्न टोली गठन

इनेप्लिज २०७२ जेठ २७ गते ३:३५ मा प्रकाशित

kailali-dist.-map-350लम्की (कैलाली), २७ जेठ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले धनसिंहपुर गाविसको जग्गा विवादको समाधान खोज्न तीन सदस्यीय टोली गठन गरेको छ ।

मन्त्रालयले मालपोत कार्यालय गुलरियाका प्रमुख अमृतकुमार कर्माचार्यको संयोजकत्वमा टोली गठन गरेको हो । टोलीमा मालपोत कार्यालय टीकापुरका प्रमुख नरेन्द्र पाल र नापी कार्यालय टीकापुरका प्रमुख मानबहादुर चन्द सदस्य रहनु भएको छ ।

टोलीलाई जग्गाको विवादबारे अध्ययन गरेर एक हप्ताभित्रै प्रतिवेदन बुझाउने समयसीमा तोकिएको भूमि सुधार तथा व्यवस्था मन्त्रालयका सहसचिव टीका घिमिरेले जानकारी दिनुभएको छ । टीकापुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दीर्घराज बुढाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जेठ २० बुझाएको ज्ञापन पत्रलाई सम्बोधन गर्दै मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको हो ।

विसं २०३६ मा क्षेत्रीय बसोबास आयोजनाले वितरण गरेको जग्गाको श्रेस्ता २०६१ भदौ २५ गते मालपोत कार्यालय टीकापुरमा भएको आगजनीमा जलेपछि समस्या भएको हो । खक्रौला भन्सार कार्यालयले स्थानीय जनताको जग्गा किन्न सूचना जारी गरेपछि समस्या सार्वजनिक भएको थियो । भन्सार कार्यालयलाई जग्गा उपलब्ध गराउन टीकापुर उद्योग वाणिज्य सङ्घले पहल गरिरहेको छ ।

प्रतिक्रिया