मंगलबार, माघ ४ २०७८
काठमाडौं १८:२३
वासिङटन डिसी 07:38

धादिङ किन पुगे राष्ट्रपति ?

इनेप्लिज २०७२ जेठ २६ गते १६:१८ मा प्रकाशित

Rss_Images_1433853899120_SA-Dhading- Rastrapati rambaran yadav-1धादिङ, २६ जेठ । राष्ट्रपति डा रामवरण यादवले भूकम्पपछि राहत, उद्धार र व्यवस्थापनको कार्यमा एकजुट भएर लाग्न सबैसँग आग्रह गर्नुभएको छ ।

गोर्खा जिल्लाको सौरपानीमा भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि धादिङ जिल्लाको सदरमुकाम धादिङबेँसी आउनुभएका राष्ट्रपति यादवले जिल्ला दैवी प्रकोप उद्धार समितिद्वारा आयोजित कार्यक्रममा विपद्का बेला सम्पूर्ण देशवासी एक भएर सङ्कट मोचन गर्न देखाएको तत्परता र राष्ट्रिय एकता सराहनीय रहेको बताउनुभयो ।

उहाँले धादिङ जिल्लाको भूकम्प प्रभावित सेर्तुङ गाविसलगायतका क्षेत्रको हवाई निरीक्षण गर्नुभई राहतको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

कार्यक्रममा जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रजिअ वासुदेव घिमिरे र सबुज गण गजुरीका गणपति विचित्रराज रेग्मीले भूकम्पबाट जिल्लामा पुर्‍याएको धनजनको क्षति, उद्धार कार्यमा सेना, प्रहरी, राजनीतिक दल, नागरिक समाजले पुर्‍याएको योगदान, राहत वितरणको अवस्था, चुनौती र समस्याहरुका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अर्थमन्त्री डा रामशरण महतले सङ्कटका बेलामा स्वदेश र विदेशबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल सरकारका तर्फबाट पु¥याउनुपर्ने राहत, पुनःस्थापन र पुनःनिर्माणको काममा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता जनाउनुभएको थियो ।

धादिङ जिल्लामा ८३ हजार घरधुरी रहेकामा ६५ हजारभन्दा बढी घर पूर्ण रुपले, पाँच हजार घर आंशिक रुपले क्षति भएको थियो भने ७३३ जनाको ज्यान गएको थियो । जिल्लाका ३१८ वटा विद्यालय भूकम्पबाट क्षतिग्रस्त भएका छन् ।

प्रतिक्रिया