पुनःनिर्माणका लागि पैसाको कमी हुँदैन: मन्त्री महत

इनेप्लिज २०७२ जेठ २६ गते १६:१३ मा प्रकाशित

ramsaran-mahatगोरखाबजार, २६ जेठ । अर्थमन्त्री डा. रामशरण महतले भूकम्पले भत्काएका संरचनाको पुनःनिर्माणको लागि पैसाको अभाव हुन नदिने बताउनुभएको छ ।

भूकम्पपीडितलाई पहिलो चरणमा अस्थायी टहरो छाउने जस्तापाता किन्न रु १५ हजार उपलब्ध गराएको उल्लेख गर्दै अर्थमन्त्री महतले स्थायी संरचना निर्माणको क्रममा रु दुई लाखका दरले रकम उपलब्ध गराउने सरकारको तयारी रहेको प्रष्ट पार्नुभयो ।

भूकम्पले पुर्‍याएको जनधनको क्षतिबारे स्थलगत अवलोकनका लागि आज गोरखा सदरमुकाम आउनुभएका अर्थमन्त्री महतले अब व्यवस्थित संरचना निर्माणका लागि सरकारले भूकम्प पीडितलाई किस्ताबन्दीमा ऋण उपलब्ध गराउनेबारे छलफल भइरहेको बताउनुभयो ।

“नयाँ संरचना निर्माणका लागि पैसाको हर्ज हुँदैन” उहाँले भन्नुभयो, “राहतको लागि पैसा खर्च गर्ने होइन । व्यवस्थित वस्ती निर्माणका लागि पैसा खर्च गर्नुपर्छ ।”

गोरखाको उत्तरी सात गाविसमा रहेका एक हजार ७०० अस्थायी टहरो छाउन जस्तापाता ढुवानी गर्नुपर्ने भन्दै अर्थमन्त्री महतले नेपाली सेनासँग समन्वय गरेर हेलिकोप्टरमार्फत जस्तापाता ढुवानीको व्यवस्था मिलाउन आफूले पहल गर्ने बताउनुभयो ।

गोरेटो, घोरेटो बाटो पहिरो गएपछि उत्तरी भेगमा खाद्यान्नलगायत सामग्री ढुवानी गर्न हेलिकप्टर मात्रै विकल्प हो ।

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा प्रभावित हुने गोरखा र धादिङका विभिन्न गाविसका स्थानीयवासीलाई मुआब्जा दिएर अन्यत्र स्थानान्तरण गर्ने सम्बन्धमा ऊर्जा मन्त्रालयलाई आवश्यक निर्देशन दिएको अर्थमन्त्री डा महतको भनाइ छ ।

“बूढीगण्डकी जलविद्युत्को विस्तृत परियोजना प्रतिवेदन करिब सकिएको छ” उहाँले भन्नुभयो, “अब धमाधम विभिन्न योजनाको लागि बोलपत्र आह्वान गर्नुपर्छ । अहिलेसम्म जग्गा अधिकरण गरिएको छैन ।”

“ऊर्जा मन्त्रालयले चाँडोभन्दा चाँडो काम गरोस् । जग्गा अधिकरणको प्रक्रिया थालोस् । जग्गाधनीलाई मुआब्जा दिन रकमको अभाव छैन” अर्थमन्त्री महतले बताउनुभयो ।

प्रतिक्रिया