पाल्पामा सडक अतिक्रमण गरी घर निर्माण गर्नेक्रम रोकिएन

इनेप्लिज २०७२ जेठ २६ गते ३:३२ मा प्रकाशित

Palpa Mapपाल्पा, २६ जेठ । पाल्पाभित्रका मुख्य तथा सहायक सडकको जग्गा अतिक्रमण गरी घर निर्माण गर्ने समस्या जस्ताको तस्तै रहेको छ ।

बुटवल–तानसेन, हार्थोक र आर्यभञ्ज्याङ राम्दी तथा तानसेन—तीनगिरे, रामपुर–आर्यभञ्ज्याङ सडकको जग्गा अतिक्रमण गरी घर निर्माण भएका छन् । सडक अतिक्रमण गरी घर निर्माण गर्ने ठूलो समस्याका रुपमा रहेको भौतिक विकास समिति पाल्पाका संयोजक वसन्त शर्माले बताउनुभयो ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक निकै साँगुरो अवस्थामा रहेको छ । पाल्पा प्रवेशदेखि नै निकै खतरा अवस्थामा रहेको शर्माले औँल्याउनुभयो । जिल्ला विकास समिति पाल्पाद्वारा आयोजित पाँचवर्षे योजना तर्जुमा गोष्ठीका सहभागी एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य शर्माले पाल्पाका सडक मापदण्ड विपरीत निर्माण हुने समस्या रोक्न आवश्यक रहेको बताउनुभयो ।

सामाजिक तथा जनसङ्ख्या समितिका संयोजक तथा नेकपा (एमाले) पाल्पाका अध्यक्ष देवीप्रसाद बस्यालले जिल्लामा जागरण कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा ठूलो परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभयो । अब पाँच वर्षमा पाल्पालाई पूर्ण छुवाछूतमुक्त जिल्लाका रुपमा व्यवहारमा लागू गर्न सबै एकजुट भई लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा स्रोत परिचालन समिति पाल्पाका संयोजक तथा जनमोर्चाका अध्यक्ष विशाल दर्लामीले स्थानीय निकायको निर्वाचन सम्पन्न नहुँदासम्म स्थानीय स्रोत परिचालनमा समस्या नै भइरहने बताउनुभयो । विपद् तथा वन व्यवस्थापन समितिका संयोजक डुलबहादुर कँुवरले सामुदायिक वनबाट स्थानीयवासीलाई रोजगारीको वातावरण सिर्जना गर्न सकिने बताउनुभयो ।

उहाँले वनमा जडीबुटी खेती गर्नसकेको अवस्थामा राम्रो आम्दानी गर्न सकिने बताउनुभयो । आर्थिक विकास समितिका सदस्य तथा जिल्ला पशु सेवा कार्यालय पाल्पाका प्रमुख तुल्सीराम भण्डारीले वैदेशिक रोजगारीमा विदेश जाने सङ्ख्यामा कमी नआएको बताउनुभयो । उहाँले युवालाई स्वदेशमा नै रोजगारीको ठूलो सम्भावना रहेको पनि औँल्याउनुभयो ।

स्थानीय विकास अधिकारी कृष्णप्रसाद पाण्डेयले यो कार्यक्रम प्रारम्भिक चरणमा प्रवेश गरेको बताउँदै चार महिनासम्म विषयगत तहको योजनाका बारेमा छलफल हुने बताउनुभयो ।

प्रतिक्रिया